राजन रावत
हुम्ला, असोज ७ गते । नाम्खा गाउँपालिका– ५ को यारी प्रहरी चौकीको कार्यालय रहेको भवनलाई पालले छोपेर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । माटोले छापेको भवनमा पानी पर्दा चुहिने समस्या भएको कारण प्रहरीले पालले छोपेर प्रहरी बस्ने र कार्यालय सञ्चालन गर्नुपरिरहेको हो ।
यारी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक तेजेन्द्र ऐरीले बर्खाभरि पालले छोपेर प्रहरी चौकी भवनमा बस्नुपरेको बताउनुभयो । उहाँले व्यक्तिको घरमा भाडामा बस्दै आएको भवनको छाना माटोले छापेको र पानी पर्ने बित्तिकै चुहिने समस्या भएको कारण पालले छोपेर राख्नुको विकल्प नभएको गुनासो सुनाउनुभयो । उहाँले पानी पर्दा पालले छोपेको भए पनि चुहिने समस्या भने भइरहने भएको कारण चौकीका प्रहरी रातभर जाग्राम बसेको अनुभव यसै वर्षको सुनाउनुभयो ।
त्यसैले पानी पर्ने बेला भयो कि सधैँ चिन्ता मात्र लागि रहने उहाँले बताउनुभयो । उहाँले तीनकोठे भवनमा एउटा कार्यालय र दुई कोठामा एउटा भान्सा र अर्कोमा सबै प्रहरी बस्ने गरिएको बताउनुभयो । दश जना प्रहरी दरबन्दी रहेको सो चौकीमा हाल आठ जना प्रहरी कार्यरत रहँदै आउनुभएको छ । यारीको दहमा रहेको प्रहरी चौकीका लागि नयाँ भवन भाडामा लिन खोज्दा स्थानीय दिन नमान्ने गरेको प्रहरीको भनाइ छ ।
जनताको शान्ति सुरक्षा कायम गर्न खटिएको प्रहरीलाई पानी परेको बेला आफ्नै सुरक्षा गर्नसमेत कठिन छ । यो समस्या बर्खामा मात्र प्रहरीले भोग्नुपरिरहेको छैन हिउँदमा हिमपात भएको बेला उस्तै रहेको प्रहरीको गुनासो रहेको छ । यारी प्रहरी चौकीका प्रहरी बाह्रै महिना यारीमै बस्ने गर्नुहुन्छ । प्रहरी चौकीको नाममा जग्गा समेत नभएको कारण आफ्नो भवन निर्माण गर्न सकिने अवस्था छैन ।