• २१ वैशाख २०८१, शुक्रबार

विदेशी भूमिबाट फुटबलमा उदाउँदै कैलालीका सिजन

blog

सिजन राना । फाइल तस्बिर

अविनाश चौधरी 

धनगढी, असोज ६ गते । कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ । 

गोदावरी नगरपालिका–५ घर भई हाल अभिभावकसँग अमेरिकाको केन्टकी बस्दै आउनुभएका उहाँ विदेशमा खेलप्रेमीहरुको मन जित्न सफल भइरहनु भएको हो । फलस्वरूप विश्वका चर्चित क्लबले जुनियर टिमका लागि सिजनमाथि आँखा लगाइरहेका छन् । 

लेक्सिन्टन स्पोर्टिङ क्लबमा रहेका सिजनलाई अमेरिकाको चर्चित एमएलएस लिगका लागि एफ्सी सिनसिन्नाति क्लबले अफर गरेको जनाइएको छ । 

यसैगरी, युरोपको चर्चित क्लब साउथ ह्याम्पटनले सिजनलाई निमन्त्रणा गरेको छ । ट्राई आउटका लागि उहाँ आगामी नोभेम्बरमा इङग्ल्याण्ड जाने तयारीमा हुनुहुन्छ । सिजनको खेल प्रतिभा देखेर जापानका क्लबहरूले पनि अफर गरेका छन् । 

गेटाका कृष्ण राना र पवि खड्काका सुपुत्र सिजन मुख्य स्ट्राइकर र लेफ्ट विङ्गर पोजिसनमा खेल्नु हुन्छ । उत्कृष्ट प्रदर्शन गरेर उहाँले आफ्नो क्लबलाई केन्टकी प्रिमियर लिग, केन्टकी स्टेट लिग, लोयिसभिल्ले कप, नाशभिल्ले ब्याटल ग्राउण्ड च्याम्पियनसिप जिताइ सक्नुभएको छ । 

फुटबल खेल्न अत्यधिक रुचाउने सिजनले राम्ररी फुटबल सिकेर निकट भविष्यमा नेपाली राष्ट्रिय टिमबाट खेल्ने आफ्नो चाहना रहेको बताउनुभयो । “म अझ धेरै सिकेर नेपाली टिमबाट खेल्न चाहन्छु”, उहाँले भन्नुभयो । 

सिजनले अहिले कक्षा ६ मा अध्ययन गरिरहनुभएको छ । अध्ययनसँगै फुटबल प्रशिक्षण गर्दै आउनु भएको उहाँ असाधारण क्षमताका फुटबल खेलाडी रहेको सिजनका प्रशिक्षक जो एडम्स बताउनहुन्छ । 

“सिजन बलसँग दगुर्ने, राम्रो पास गर्ने प्राकृतिक सीप भएको खेलाडी हुन”, उहाँले भन्नुभयो,“यति सानो उमेरमा यो स्तरको खेल खेल्ने उनको भविष्य निकै उज्ज्वल छ ।”