• १० मंसिर २०८१, सोमबार

नेपाली सेनाको गौरवमय इतिहास

blog

मलाउ किल्ला  । यहाँ डेभिड अक्टरलोनीको नेतृत्वमा युद्ध भएको थियो । यही किल्ला नजिक सरदार भक्ति थापाले वीरगती प्राप्त गरेका थिए ।

परापूर्वकालदेखि नै नेपालले मित्रराष्ट्रलाई सैनिक सहयोग दिएको प्रमाण छन् तर आधुनिक काल (विसं १८०१ देखि) को मात्र यहाँ उल्लेख गरिएको छ : 

पृथ्वीनारायण शाहको पालामा भारतमा अङ्गे्रजको राज थियो । त्यो बेला विशेष गरी सीमा क्षेत्रका गाउँबस्तीमा लुटपाट हुन्थ्यो । मान्छे मारिन्थ्यो । यस्तो आतङ्ककारी काम गर्ने टोलीलाई गोसाइ र बैरागी भनेर चिनिन्थ्यो । आतङ्ककारी कामबाट अङ्गे्रज हैरान भएका थिए । यो समस्या समाधानका लागि अङ्ग्रेजले पृथ्वीनारायण शाहलाई अनुरोध गरे । पृथ्वीनारायण शाहले आफ्ना सेना पठाई गोसाइ र बैरागी समूहलाई कारबाही गरी आतङ्ककारी काम रोकिदिएका थिए ।

विसं १८३७ अर्थात् सन् १७८०/८१ तिर काशीका राजा (हाल भारत) चेतसिंह (चेतसिंह शाही बहादुर) ले तत्कालीन ब्रिटिस इन्डियाको गभर्नर जनरल र उनका सेनालाई नै पक्रेर काशीको किल्ला (रामनगर किल्ला पनि भनिन्छ) मा थुनेर राखे । केही गोरा अधिकृत पनि मारी दिए । सो अवस्थामा ब्रिटिसले राजा रणबहादुर शाहलाई सैनिक सहयोग माग्यो र काजी धौकलसिंह बस्न्यातको नेतृत्वमा पाँच कम्पनी (करिब ७५० जना) नेपाली सेना ब्रिटिसलाई कैदमुक्त गर्न हिँड्यो तर कैदबाट अङ्ग्रेज छुटेको खबर बिच बाटामै आएकाले सो सेना काठमाडौँ फर्केको थियो । 

सन् १८५७ मा हिन्दुस्थानमा भएको सिपाही विद्रोह नियन्त्रण गर्न प्रधानमन्त्री जङ्गबहादुर राणा स्वयम्समेत गएर नेपालबाट १४ हजारभन्दा बढी सेना ब्रिटिसका लागि सहयोग गरियो । यो सिपाही विद्रोहलाई भारतले ‘पहिलो स्वतन्त्रता सङ्ग्राम’ भन्ने गरेको छ । 

सन् १९१४–१९ मा भएको प्रथम विश्वयुद्धमा नेपालले ब्रिटिसका लागि १५ हजार ३९४ सेना सहयोग गरेको थियो । ब्रिटिस गोर्खामा भर्ना हुन गएका नेपाली युवा भने यसमा समावेश छैनन् । यो नेपाली सेनाको सङ्ख्या मात्र हो । त्यसपछि सन् १९१७ मा ब्रिटिसकै मद्दतका लागि हाल पाकिस्तानमा पर्ने वजिरिस्तानमा करिब दुई हजार पाँच सय सेना सहयोग गरिएको थियो । यही लडाइँमा फस्ट राइफल रेजिमेन्टका सुबेदार (पछि कर्नेल – ओखलढुङ्गा घर हुने) चन्द्रबहादुर कार्कीले मिलिटरी क्रस (एमसी) तक्मा पाए । यो तक्मा नेपाली सेनाको इतिहासमा पहिलो इतिहास ।

सन् १९१९ मा ब्रिटिसकै सहयोगका लागि नेपालले दुई हजार ९७ जना सेना अफगानिस्तान पठायो । सन् १९३९–४५ को दोस्रो विश्वयुद्धमा ब्रिटिसको सहयोगका लागि नेपालले आठ हजारभन्दा बढी सेना पठायो । यो सङ्ख्यामा पनि ब्रिटिस गोर्खामा भर्ना हुन गएका नेपाली युवा समावेश छैनन् । सन् १९४८ मा स्वतन्त्र भारतको अनुरोधमा हैदराबाद क्षेत्रमा शान्ति स्थापना गर्न १९ पल्टन (१९ हजार जति) नेपाली सेना भारत गयो । नेपाली सेनाले त्यो बेला हजारौँ हिन्दु र मुसलमानको ज्यान बचाएको थियो । सन् १९५५ देखि संयुक्त राष्ट्रसङ्घलाई सहयोग गर्न हालसम्म करिब एक लाख ५० हजार सेना पठाइसकिएको छ । हाल यो काममा नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी बलको पनि योगदान रहेको छ । 

नेपाल–अङ्ग्रेज युद्धका केही तथ्य 

नेपाल–अङ्ग्रेज युद्ध (विसं १८७१–७३) भनेको समग्र रूपमा समेटिने नाम हो । त्यसभित्र टिस्टा नदीदेखि सतलज नदीभित्र धेरै लडाइँ भएका थिए । तीमध्ये निम्न तथ्य छन् : 

पहिलो चरण : सबैभन्दा पहिले सुरु भएको लडाइँ नालापानी उपत्यकाको खलङ्गा भन्ने डाँडामा भएको थियो । सन् १८१४ को नोभेम्बर १ बाट युद्ध हुने घोषणा गरेको अङ्ग्रेजले फटाइँ गरेर करिब आठ दिनअघि नै नालापानी क्षेत्रमा हमला ग¥यो । अनि सबैभन्दा पहिले नेपालले हारेको लडाइँ पनि यही हो । झन्डै चार हजार अङ्ग्रेजविरुद्ध नेपाली छ सय जतिले पाँच हप्तासम्म वीरताको साथ लडे तर फौज र लडाइँ गर्ने सामानको कमीले लडाइँ जित्न सकिएन । अनि सबैभन्दा पूर्वमा रहेको विजयपुर साँगुरीगढी इलाकामा बढेका ब्रिटिसलाई काजी बखताबर सिंह थापाले अगाडि बढ्नै नदिएको पक्का हो । ब्रिटिस क्याप्टेन बि. लेटरले एक बाहिनी फौज लिएर हमला गर्दै थिए । रौतहट–बारा–पर्सालगायत मकवानपुर क्षेत्रको लडाइँमा कर्नेल (पछि जनरल) रणवीर सिंह थापाको नेतृत्वमा धेरै ब्रिटिस सेना मारी विजय प्राप्त गरेकै हो । यो युद्धमा ब्रिटिस कमान्डर बेनेट मार्ले एक डिभिजन फौजसहित भागेका थिए । 

बुटवल–कपिलवस्तु–तानसेन इलाकाको लडाइँमा कर्नेल उजिर सिंह थापाको नेतृत्वमा ब्रिटिसलाई दुई पटक हराएकै हो । धेरै ब्रिटिस सेना मारिए । ब्रिटिस सैनिक कमान्डर मेजर जनरल सुलेभन उड थिए । उनी पनि भागे । अनि कुमाउ इलाकाका सैनिक कमान्डर चौतरा हस्तिदल शाह र प्रशासनिक कमान्डर (गभर्नर जस्तै) चौतरा बम शाह थिए । हस्तिदल लडाइँमा मारिए । यो क्षेत्रमा कर्नेल निकोल्स र कार्पेन्टर अङ्ग्रेज कमान्डर थिए । ब्रिटिसको दुई बाहिनी फौज थियो । नालापानी उपत्यकाको लडाइँको नेतृत्व कप्तान बलभद्र कुँवरले छ सय जति फौज लिएर वीरताका साथ लडे । यसमा नेपालीको हार भयो । मेजर जनरल जिलेस्पी अङ्ग्रेज कमान्डर थिए । उनी मारिए ।

सिर्मौरको जैथकको किल्लाहरूमा भएको लडाइँको नेतृत्व काजी रणजोर सिंह थापाले गरेका थिए । यिनले धेरै ब्रिटिस सेना मारे । लडाइँको वारपार नभई उनका पिता काजी (बडा) अमर सिंहले १५ मे १८१५ मा मलाउमा गरेको सम्झौता अनुसार लडाइँ रोकेर किल्ला छाड्नु प¥यो । नेपाल–अङ्ग्रेज युद्धमा सबैभन्दा धेरै शत्रु मार्ने र सबैभन्दा लामो समय (पाँच महिनाभन्दा बढी) लडाइँ यही क्षेत्रमा भएको थियो । अङ्ग्रेज कमान्डर मेजर जनरल मार्टिन्डेल थिए । अङ्ग्रेजको एक डिभिजन सेना थियो ।

श्रीनगर क्षेत्रमा पहिलाका मूलकाजी बखताबर सिंह बस्न्यातको नेतृत्वमा फौज तयारी थिए । अङ्ग्रेज त्यहाँ नपुग्दै मलाउको सम्झौता भयो । लडाइँ भएन । मलाउ–बिलासपुर–सतलज इलाकाका सैनिक कमान्डर सरदार अर्थात् कप्तान भक्ति थापा थिए । उनी लडाइँमा मारिए । यो क्षेत्रको लडाइँ हारियो । अन्त्यमा यही मलाउ किल्लामा अङ्ग्रेजसँग १५ मे १८१५ मा सम्झौता भई नेपालले महाकाली पश्चिमको सबै भूगोल छाडेको थियो । अङ्ग्रेज कमान्डर कर्नेल (पछि जनरल) अक्टरलोनी थिए । अङ्ग्रेजको एक डिभिजन फौज थियो । बडाकाजी अमरसिंह थापा मलाउ–विलासपुर, जैथक र नालापानी क्षेत्रको जिम्मेवार प्रसासनिक कमान्डर (गभर्नर जस्तो) थिए । उनैको आदेशबाट ती सबै क्षेत्रको लडाइँ लडिएका थिए । 

दोस्रो चरण : महाकाली पश्चिममा नेपालको सबै हार भएपछि अङ्ग्रेजले त्यताका अङ्ग्रेज सेना जम्मा गरेर मलाउ इलाकामा बडाकाजी अमर सिंहलाई हराउने जनरल डेभिड अक्टर्लोनीको नेतृत्वमा एक डिभिजनभन्दा बढी फौज फेरि दोस्रो पटक हरिहरपुर–मकवानपुर क्षेत्रबाट काठमाडौँ राजधानीसम्म हमला गर्ने लक्ष्य लिएर अङ्ग्रेज अगाडि बढ्यो । यो पटक सुरुमा नै हरिहरपुर गढीमा नेपालको नराम्रो हार भयो । २६ फेब्रुअरी १८१५ मा हरिहरपुर गढीमा भएको यो लडाइँ नै नेपाल–अङ्ग्रेज युद्धको अन्तिम लडाइँ थियो । यो लडाइँबाट नै नेपालले अब अङ्ग्रेजसँग लडाइँ नगर्ने निधो गरेको थियो । अङ्ग्रेजले हेटौँडाको हर्नामाडी इलाकामा फौज जम्मा गरी मकवानपुर इलाकामा तोपबाट फाइरिङ गरेको र पेट्रोल पठाएकोबाहेक लडाइँ भएन र नेपालले हाल भारतमा रहेको सुगौली छाउनीमा पुगेर सुगौली सन्धिमा हस्ताक्षर गरेको थियो । अनि युद्ध समाप्त भयो ।

विदेशीसँग लडेका युद्ध

विसं १८१९ मा मुगल बादसाहको मुसलमान सेनासँग मकवानपुरमा विजय युद्ध भयो । गुरगिन खाँको नेतृत्वमा ३७०० जति सेना आएका थिए । विसं १८२४ मा ब्रिटिस भारतमा रहेको ब्रिटिस फौजको एक बाहिनी सेनाविरुद्ध सिन्धुलीमा विजय युद्ध लड्यो । यो युद्ध सिन्धुलीमाढीदेखि पौवागढीसम्मको करिब १० किमी गोरेटो बाटोमा ठाउँठाउँमा भएको थियो । अङ्ग्रेजको तर्फबाट क्याप्टेन जर्ज किनलकले नतृत्व गरेका थिए । 

नेपाल एकीकरणकै क्रममा प्रधान सेनापति काजी अभिमानसिंह बस्न्यातको नेतृत्वमा विसं १८३२–३३ मा हाल सङ्खुवासभाको गोलाबजार (अहिले चैनपुर) को सिद्धकाली र कैलाश डाँडा इलाकामा सिक्किमको सेनासँग विजय युद्ध भयो । उस बखत अरुण नदीपूर्व सिक्किमसम्म सिक्किम राज्य थियो । विसं १८४२ मा फेरि सिक्किमे सेनाको नेतृत्वमा तिब्बतीसमेत गोलाबजारमा हमला गर्न आएका थिए तर यो पनि नेपालको विजय युद्ध भयो । नेपाली सेनाका कामान्डर मूलकाजी बखताबर सिंह बस्न्यात थिए । त्यसको तीन वर्षपछि काजी जहरसिंह बस्न्यातको नेतृत्वमा फेरि सिक्किमे सेना नेपाली सेनासँग दार्जिलिङ–कालिङपोङ इलाकामा लड्न आयो । यसमा पनि नेपालको विजय भयो ।

विसं १८४५ मा पहिलो नेपाल–तिब्बत विजय युद्ध भयो । विसं १८४७ मा दोस्रो नेपाल–तिब्बत विजय युद्ध भयो । दोस्रो विजय युद्ध भई आधा जति सेना नेपाल फर्केका र बाँकी नेपाली सेना तिब्बतमा नै रहेको अवस्थामा तिब्बतको सहयोगका लागि चिनियाँ सेना आयो । चिनियाँ र तिब्बती सेनाले नेपाली सेनाविरुद्ध विसं १८४८ (सन् १७९१०) मा हमला ग¥यो । यसरी नेपालले चीनसँग रक्षात्मक युद्ध लड्नु प¥यो । यो लडाइँ नेपालीको पक्षमा भएन । यसलाई नेपाल–चीन युद्ध भनिन्छ । 

विसं १८६६ (सन् १८०९) मा नेपाल–सिख युद्ध भयो । यो युद्ध काँगडा क्षेत्रमा पञ्जाबका राजा रणजित सिंह र नेपालका कमान्डर काजी अमरसिंह थापा (बडा) को नेतृत्वमा भएको थियो । यो युद्ध पनि नेपालको पक्षमा भएन । विसं १८७१ (सन् १८१४) मा नेपालले ब्रिटिस इन्डियासँग रक्षात्मक युद्ध लड्नु प¥यो । यो पनि नेपालको पक्षमा भएन । सुगौली सन्धिले अन्त्य भएको यो लडाइँलाई नेपाल–अङ्ग्रेज युद्ध भनिन्छ । विसं १९११ मा नेपालले अन्तिम नेपाल–तिब्बत युद्ध विजयको साथ लड्यो । नेपालका लागि नेपाली सेनाले लडेको यो नै अन्तिम युद्ध थियो । 

सन् १९२३ मा नेपालबाट तक्मा लिएर इटाली पुगेको नेपाली टोलीका साथ रोमका अधिकारीहरू । तस्बिर सौजन्य : जनरल सोभागजङ्ग थापा

दोस्रो विश्वयुद्धमा नेपाली सेना

दोस्रो विश्वयुद्धभित्रको लडाइँमा भाग लिने नेपाली सेनाको एउटा पल्टन (रेजिमेन्ट) मा १०१५ देखि १०२५ जनासम्म हुन्थे । एउटा रेजिमेन्टमा पाँच सय/पाँच सय जनाको दुई वटा गण हुन्थे र एउटा रेजिमेन्ट बन्दथ्यो । ती दुई गणमध्ये ज्येष्ठलाई ‘राइट हाफ’ र कनिष्ठलाई ‘लेफ्ट हाफ’ भनिन्थ्यो । ज्येष्ठ गणको नामबाट रेजिमेन्टको नाम राखिन्थ्यो । रेजिमेन्ट हेडक्वार्टर हुन्थ्यो । दोस्रो विश्वयुद्धमा भाग लिएका पल्टनहरू ः श्रीनाथ, कालिबक्स, सूर्यदल, नयाँगोरख, बर्दबहादुर, कालीबहादुर, महिन्द्रदल, दोस्रो राइफल, भैरुङ, जबरजङ्ग, शमशेर दल, शेर, देवीदत्त, भैरव नाथ, जगनाथ र पुरानो गोरख थिए । 

दोस्रो विश्वयुद्धमा जनरल बहादुरशमशेर राणाको नेतृत्वमा नेपाली फौज पठाइएको थियो । युद्धभूमि र अन्य दैनिकी अभिलेख लेख्नका लागि सरदार गुञ्जमान र सुब्बा निरराज राजभण्डारीलाई पठाइएको थियो, जुन अभिलेखहरू अहिले नेपाली जङ्गी अड्डाको केन्द्रीय पुस्तकालयमा राखिएको छ । विसं १९९६ फागुन २२ गते जुद्धशमशेरले पहिलो टोली फौजलाई काठमाडौँको टुँडिखेलबाट बिदाइ गरेका थिए । 

यही युद्धमा खटिएकामध्ये पछि पदोन्नति भएका ब्रिगेडियर जनरल दयाबहादुर खाण, ब्रिगेडियर जनरल चुत्रबहादुर थापा, लेफ्टिनेन्ट कर्नेल (लेक) शैलेन्द्रबहादुर महत, लेक गुप्तबहादुर गुरुङ, लेक बलबहादुर सिलवाल खत्री, लेक जगतबहादुर खत्री र सुवेदार होमबहादुर गुरुङले ब्रिटिस अधिराज्यको मिलिटरी क्रस (एमसी) विभूषण पाएका थिए । विसं २००२ (२८ अक्टोबर, १९४५) सम्म सबै नेपाली सेना देश फर्केकाले सोही दिनलाई विजय दिवस पनि मनाइयो । वास्तवमा दोस्रो विश्वयुद्धको विजेता अमेरिका, बेलायत, चीन, रुस, फ्रान्सलगायत नेपाल पनि थियो । यो गर्वको विषय हो ।

त्यही बेलामा ब्रिटिस–इन्डियाका कमान्डर इन चिफ अकिनलेकलाई पनि नेपाल बोलाई दोस्रो विश्वयुद्धको विजय उत्सव मनाइयो । सोही अवसरमा कालीबहादुर, महिन्द्रदल र सेर रेजिमेन्ट (हाल गण) का अफिसर कमान्डिङहरू लेफ्टिनेन्ट कर्नेल (लेक) बलदेवशमशेर राणा, लेक गेहेन्द्रशमशेर थापा र लेक क्षेत्रविक्रम राणाले लडाइँमा राम्रो काम गरेकाले जनही १२ हजार रुपियाँ पुरस्कार पाएका थिए (२००२ साल मङ्सिर २९ गते अर्ध साप्ताहिक सङ्ख्या ६४ को गोर्खापत्र अनुसार) । उक्त मार्च पास्ट – विजय उत्सव सकिएकै दिन २००२ कात्तिक २६ गते बेलायती राजदूतले नेपाललाई एकमुष्ठ तीन करोड ३३ लाख रुपियाँ आर्थिक सहयोग दिएको घोषणा पनि गरे । 

इटालीले नेपाललाई गरेको सम्मान

नेपाली सेना संसारभर गोर्खाली सेनाको नामबाट प्रख्यात भइसकेको थियो किनभने नेपाली सेनाले लडेका मुगल फौजको नेतृत्व गरेको गुरगीन खाँका ३७०० फौजसँगको मकवानपुरको युद्ध, क्याप्टेन किनलकको एक बाहिनीविरुद्धको सिन्धुलीको लडाइँ, भारतीय सिपाही विद्रोहमा नेपाली सेनाको बहादुरी, प्रथम विश्वयुद्धमा ब्रिटिस गोर्खाबाट नेपाली युवा र नेपाली सेनाले देखाएका बहादुरी आदिले युरोपमा हल्लिखल्ली मच्चिएको थियो नेपालीका बारेमा । उस बखत आमनेपालीलाई गोर्खा भनेर सम्बोधन गरिन्थ्यो । सरकारी चिठीपत्र, मानसम्मानमा समेत गोर्खा सरकार लेख्थे, पश्चिमा र चीनले पनि । विसं १९८०–८१ (सन् १९२३ दिसेम्बर २१ को दिन) मा नेपाल र ब्रिटेनबिच एउटा सन्धि भयो । त्यसपछि मात्र उसले गोर्खाको सट्टा नेपाल, स्वतन्त्र देश नेपाल, राजालाई हिज म्याजेस्टी र प्रधानमन्त्रीलाई हिज एक्सिलेन्सी भनी औपचारिक सम्मान दिएको थियो । वास्तवमा यो देशलाई धेरै पछिसम्म गोर्खा नै भनिन्थ्यो । 

विशेष गरी प्रथम विश्वयुद्धमा ब्रिटिस गोर्खाका लाहुरेहरूले लडाइँमा देखाएका बहादुरीले पश्चिमा अचम्म मान्थे । त्यस बखत नेपालले बेलायतलाई मात्र सहयोग गर्ने भएकाले जर्मनका हिटलर र इटालीका मुसोलिनी पनि नेपाली युवालाई उनीहरूको सेनामा भर्ना गर्न चाहन्थे । त्यसैले इटालीका मुसोलिनीले १९९० वैशाख २२ गते (सन् १९३३ मा) राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरलाई तक्मा पठाए । युरोपका शक्तिशाली राष्ट्रहरूले नेपाललाई एकदम शक्तिशाली देखेका थिए । 

कूटनीतिक शिष्टता अनुसार नेपाल सरकारले पनि इटालीका राजा इमानुयल र मुसोलिनीलाई नेपालबाट तक्मा पठायो । सो तक्मा बेलायतस्थित नेपाली राजदूत जनरल बहादुरशमशेर राणाले इटाली पु¥याउनुभएको थियो । उनका साथमा सैनिक सहचारी कर्नेल सोभागजङ्ग थापा, सुब्बा गुञ्जमान सिंह र खरिदार कृष्णमोहन गएका थिए तर नेपालले जर्मन र इटालीलाई उनीहरूको सेनामा नेपाली भर्ना गर्न नदिने जवाफ पठायो । 

 

Author

डा. प्रेमसिंह बस्न्यात