नेपाली साहित्यमा प्रतिष्ठित नाम हो– दिनेश अधिकारी । पाँच दशकदेखि गीत तथा कविता सिर्जनामा सव्रिmय दिनेश नेपाली साहित्यका चर्चित स्रष्टा हुनुहुन्छ । उहाँका अधिकांश सिर्जना विपन्न तथा सीमान्तकृत जनताकेन्द्रित छन् । धेरै कृति मनोरञ्जनकेन्द्रित पनि छन् । मदन पुरस्कारसहितका प्रतिष्ठित सम्मानप्राप्त दिनेश विश्वभरका नेपालीभाषीका रोजाइमा पर्नुहुन्छ ।
नेपालयले हालै प्रकाशन गरेको ‘पानीको परेड’ मा पछिल्ला १५ वर्षमा लेखिएका उहाँका सात विषयवस्तुका ७७ वटा कविता समेटिएका छन् । हरेक कविता सशक्त हुँदाहुँदै पनि केही कविताका आधारमा यो लेख तयार गरिएको हो । ‘पानीको परेड’ मा समावेश कवितालाई विभिन्न दृष्टिबाट व्याख्या गर्न सकिन्छ तर मैले यसै कारण समाजशास्त्रीय दृष्टिकोण अपनाएँ । यो कृतिले समाजका विभिन्न पक्ष उजागर गरेको हुँदा समाजशास्त्रीय दृष्टिबाट यसलाई हेर्नु सान्दर्भिक देखिएको हो । कृतिमा पाठकले समाजका विभिन्न पक्षमा देखिने उतारचढाव आत्मसात् गर्न सक्छन् ।
दिनेशले आफ्ना कवितामा पूर्वीय संसारको क्यानभास चित्रण गर्नुभएको छ । हाम्रो पूर्वीय संस्कार विशिष्ट रहेकाले पश्चिमी संसारले नेपाली सामाजिक संस्था जस्तै– परिवार, विवाह, मृत्यु संस्कार, घरसम्पत्ति, महिला र पुरुषको सामाजिक अवस्था, अन्तर्वि्रmया र मनोविज्ञानको विशिष्टताबारे चासो राख्छ किनकि हाम्रो सामाजिक जीवन फरक छ तर आधुनिकताले हाम्रा बालबालिकालाई हामीबाट अलग्याउँदै छ । चाहेर वा नचाहेर समाजमा मातापितासँग सन्तान टाढिँदै छन् ।
‘वव्रm वर्षा’ भित्र समेटिएका कवितामा समाज, राजनीति र वरपरका मानिससँगको सम्बन्ध प्रस्तुत गरिएको छ । ‘सत्ता’ कवितामार्फत राजनीतिले कसरी यथार्थलाई तोडमोड गर्छ भनेर चासो प्रकट गरिएको छ । पौराणिक कथामा समेत अनेक प्रपञ्च रचेर बलियाले दुर्वललाई आघात पु¥याएका अनेकौँ दृष्टान्त छन् । यी पौराणिक युगका धोका र धरपकड वर्तमानमा अझ डरलाग्दो रूपमा रहेको कवि तथा गीतकार दिनेश अधिकारीको दाबी छ । सामाजिक दृष्टिबाट हेर्दा हामीले विश्वमा देखिरहेका युद्ध, मानव संहार, आतङ्क अझ प्राकृतिक स्रोतसाधनमाथि बलियाले थोपरेको युद्धसँग जोड्न सकिन्छ ।
कविताहरूमा समसामयिक राजनीतिप्रति असन्तुष्टि व्यक्त गरिएका छन् जसले न्यून मानव विकास सूचकाङ्क र बढ्दो भ्रष्टाचारलाई निम्त्याएको देखिन्छ । उहाँका कविताले समाजमा जनउत्तरदायी शासकको अभाव खड्केको देखाउँछ । राजनीतिक जिम्मेवारीबोध गर्न नपर्ने तर मह चाट्ने मानसिकताविरुद्ध कविताहरू आन्दोलित छन् ।
लैङ्गिक समानताको मुद्दाले दिनेशका सिर्जनामा राम्रो स्थान पाएका छन् । ‘एउटा अर्को बलात्कार’ कविताले यौनहिंसाको उदाहरण प्रस्तुत गर्दै पितृसत्तात्मक समाजमा महिलामाथि हुने दमनलाई उजागर गर्छ । कवितामा महिला सामाजिक अवसरमा मात्र होइन, कानुनी प्रव्रिmयामा समेत पीडित हुने अवस्था चित्रित गरिएको छ । यसका विपरीत, ‘पुरुष–वेश्या’ कविताले समकालीन लैङ्गिक विमर्शलाई उल्टो कोणबाट हेरेको छ । पेट पाल्न आफूलाई बेच्न बाध्य पुरुषहरूको पीडा देखाउँदै कविताले लैङ्गिक मुद्दालाई फरक दृष्टिले हेर्न अधिकारकर्मीलाई आग्रह गरेको छ । वास्तवमा निम्न आर्थिक अवस्थाका पुरुषले घरमा गुजारा चलाउन घरबाहिर पटक पटक बलात्कृत हुनु पर्छ । पुरुषले भोग्नु परेको अपमान, दुव्र्यवहार, धरपकडको दुःखद घटना आफैँभित्र लुकाएर राख्छ; जुन एकप्रकारको बलात्कार नै हो । जसरी एउटी महिलाले न्यायका लागि समाजमा पुनः बलात्कृत हुनु पर्छ, त्यसै गरी पुरुष पनि आफैँभित्र बलात्कृत हुन्छ । यस अर्थमा कवि दिनेशका सिर्जना लैङ्गिक दृष्टिले
सन्तुलित छन् ।
नेपाली समाजमा राजनीतिक परिवर्तनपछि पनि जनआकाङ्क्षा पूरा नहुँदा देशप्रेम फिक्का हुँदै गएको गुनासो सुनिन्छ तर ‘आवरण र अस्तित्व’ कवितामा दिनेश नेपाली हुनुमा खुसी भएको दाबी गर्नुहुन्छ । अर्कोतर्फ ‘सीमाक्षेत्रका बासिन्दा’ कवितामा उहाँले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले छिमेकीबाट पहिचानकै आधारमा भोग्नु परेको अपमानलाई निर्भीकतासाथ प्रस्तुत गर्नुभएको छ । देशप्रेमले लेखनमा ठुलो स्थान पाए पनि उहाँ आफ्ना कवितामा अझ सशक्त राष्ट्र निर्माणको आवश्यकता औँल्याउनुहुन्छ । जबसम्म हामी शिर ठाडो पारेर आफ्नै माटोमा उभिन सक्दैनाँै वा पसिना पोखेर सुठोपिठो खाने अवसर बन्दैन, आफ्नै राष्ट्रियताप्रति पनि मान्छेले प्रश्न गर्छ भन्ने डरलाग्दो खुलासा कविताले गरेको छ । अर्कोतर्फ हामी जुन खालको भूबनोटमा छाँै, यस्तो भूगोलमा आफ्नो अस्तित्व कायम राखेर विकासको बाटोमा लम्कन हामीमा कूटनीतिक दक्षता हुन जरुरी छ ।
कविताले भन्छ– कहिलेकाहीँ आफूले आफैँलाई नचिनेकै पनि राम्रो हो । आफैँलाई नचिन्दा कहिलेकाहीँ बडो आनन्द हुन्छ भने आफ्नो पहिचान थाहा पाउँदा झन् पीडा पनि थपिन्छ । यसैले केही कविताले आत्मचेतनाले मानिसलाई पीडा महसुस गराउँछ भन्ने गहिरो सन्देश दिन्छ । ठुला सपना नदेख्दा साना साना कुराले पनि सन्तोष दिन्छ भन्ने भाव ‘सङ्व्रmमित चेतना’ मा व्यक्त गरिएको छ । उच्च अपेक्षासँगै पीडा र दुःख पनि सहयात्री बन्ने यथार्थ आफ्ना कवितामा दिनेशले प्रस्तुत गरेका छन् ।
साहित्यमा समाज र वातावरणबिचको अन्तरसम्बन्ध प्रायः उपेक्षित हुन्छ तर ‘घरबाट निस्केपछि’ र ‘मर्नुअघि’ कविताले मानिस र प्रकृतिबिचको गहिरो सम्बन्ध उजागर गर्छन् । यस्ता कविताले जीवनलाई सहज बनाउने प्रकृतिलाई सम्मान गर्न प्रेरित गर्छन् ।
‘पानीको परेड’ मा श्रमिक वर्गको समस्या पनि प्रस्ट देखिन्छ । ‘ट्रक ड्राइभर’ कवितामा परिवारसँग समय बिताउन नपाएको युवाको कथा छ । ‘खुसी’ कवितामा विदेश गएका युवाको पीडा चित्रित छ । कवितामा परदेसिएको युवा कफिनमा फर्केको यथार्थ र परिवारले शव बुझ्न पनि खुसी हुनुपर्ने बाध्यता देखिन्छ । देशभित्र पनि मजदुर सुरक्षित छैनन् । खास गरी विपन्न महिला कठोर शारीरिक श्रम गर्छन् फलस्वरूप उनीहरूमा अनेक स्वास्थ्य समस्या देखिन्छ । दिनेशका सिर्जनाले हाम्रै अनगन्ती पीडा छताछुल्ल पार्छन् । उहाँका कविताले कार्यक्षेत्रमा सुरक्षा र सतर्कताको प्रबन्ध गर्न आवश्यक छ भन्ने सङ्केत गर्छ ।
कविताले हाम्रो आफ्नै कथा बोकेका छन् । सडकछेउ दुःखजिलो गर्ने महिला हुन् वा रिक्साचालक; सिर्जनामा देखिएका पात्र हामीमध्येकै हुन सक्छन् । ‘योजना’ शीर्षकको कविताले गरिबी र बेरोजगारीले पिल्सिएको नेपाली समाजको पीडा बोल्छ । दिनेशले सरकारका तर्फबाट बनाएका योजना नजिकबाट हेर्नुभएको छ अनि ती योजना कागजमै हराएको पनि देख्नुभएको छ । यस्ता योजनाका खातभित्र एउटा सामान्य नेपालीले उसको परदेशी छोरा आफ्नै देशमा बाँच्ने आधार देख्दैन । हामीले देशमा देख्दै आएको राजनीतिक अस्थिरता र अस्तव्यस्तता पनि यही असन्तोषको फल होे भन्न सकिन्छ । यसैले नीतिनिर्माताले दिनेश जस्ता स्रष्टाका सिर्जनालाई मनन गर्दा प्रभावकारी हुने छ । किनकि देश र परदेश बुझेको एक परिपक्व स्रष्टाका कलमबाट व्यक्त सन्देश, आव्रmोश वा आग्रहले नीतिनिर्माणमा सघाउने छन् । दिनेश अधिकारीका सिर्जनाको थप मूल्याङ्कन पाठक स्वयम् गर्न स्वतन्त्र छन् ।