प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई अमेरिकाबाटै प्रधानमन्त्री चीन भ्रमणमा जानुभएको हो । सन् १९५५ बाट राज्यस्तरीय सम्बन्धसँगै १९६० मा आपसी दूतावास स्थापना अगावै नेपाल–चीनबिच सामाजिक, सांस्कृतिक, धार्मिक अनि व्यापारिक रूपमा घनिष्ट सम्बन्ध थियो । उपहारको आदान/प्रदान र भ्रमणसमेत हुन्थे । चीनबाट हामीलाई आर्थिक, सामाजिक, व्यापारिकलगायत क्षेत्रमा उल्लेखनीय सहयोग छ । दोस्रो लगानी सम्मेलनमा १२ अर्ब डलरको प्रतिबद्धता प्राप्त भयो । यस्तो हितकर मित्रदेशको भ्रमण स्वाभाविक हो र निरन्तर रहनु पर्छ । यद्यपि यो बहुप्रतिक्षित भ्रमण बहु रूपमा समेत बहुआयामिक बन्नु पर्छ ।
यो केवल एक छिमेकी मित्रराष्ट्रको भ्रमण मात्र भने होइन । विख्यात पत्रिका फोब्र्सको सर्वेक्षण अनुसार अहिले चीनका राष्ट्रपति महामहिम ‘सी’ विश्वको पहिलो शक्तिशाली व्यक्ति हुनुहुन्छ । विगतमा उक्त हैसियत सामान्यतया अमेरिका वा रूसका राष्ट्रपतिमा हुन्थ्यो । चीनको पछिल्लो अद्धितीय अद्भुत अर्थ–राजनीतिक प्रगतिबाट ‘सी’ उक्त आभूषणले विभूषित बन्नुभयो । अहिले चीन संसारको उच्च व्यापार नाफा कायम गरेको, अधिक प्रतिव्यक्ति क्रय क्षमताको आम्दानी भएको, अग्ला भवन, फराकिला सडक, सुविधा सम्पन्न सहरहरूको देश हो । फरिद जकारीयाको ‘पोस्ट–अमेरिकन वल्र्ड’मा वर्णित अद्भुत चीन निर्माणमा वर्तमान राष्ट्रपति ‘सी’ले प्रयोग गर्नुभएको जोसेफ एस नाइबाट विकसित अवधारणा ‘सफ्ट पावर’को ठुलो भूमिका छ । विलियम ओभरहल्टको पुस्तक ‘द राइज अफ चाइना’ लगायत थुपै्र पश्चिमा लेखकले चीनको प्रगतिलाई शान्तिपूर्ण उदय (पिसफुल राइज अफ चाइना) भन्छन् तर चीन स्वयम्का विद्वान्हरू भने चीन इतिहासमा पनि आर्थिक विकास र सभ्यताको केन्द्र भएकोले यो उदय नभई पुनरागमन (पिसफुल रिर्टन अथवा रिभाइभल अफ चाइना) भएको बताउँछन् । आजकाल पश्चिमा बजारमा प्रकाशित सम्पूर्ण पुस्तकको ४० प्रतिशत त चीनको बारेमा लेखिएका सर्वेक्षणहरू देखिन्छन् ।
बेलायती प्रसिद्ध पत्रिका ‘द टेलेग्राफ’मा २ अक्टोबर २०११ मा ज्यु जीनरनकृत लेखमा तत्कालीन विश्वसम्राट नेपोलियनको चीनमाथिको टिप्पणीलाई साभार गरिएको छ । नेपोलियनको भनाइ थियो ‘चाइना इज स्लिपिङ लाइन, लेट हर स्लिप, फर हेवन सि वेकस सि सेक्स द वल्र्ड’ (चीन सुतिरहेको सिंह हो, उसलाई सुत्न देऊ, जब ऊ उठ्छ, तब विश्वलाई कम्पन दिने छ) । अहिले उक्त भनाइ चरितार्थ हँुदै छ । विश्व आर्कषण तथा विचार/विमर्शको केन्द्र बन्दै चीनले लामो समयको एकधुव्रीय संसारलाई विनिर्माण गर्दै छ । यस्तो महाशक्ति देशमा हुने यस भ्रमणले हामीलाई विराट व्यापार परियोजनामार्फत आफूलाई लाभान्वित गर्ने अवसर प्राप्त हुन्छ । व्यापार सञ्जाल विस्तारसाथ समन्वय बढाउन सकिन्छ । चीनमा अविलम्बित समाजवादबाट हाम्रो समाजवादी भविष्यको लक्ष्यलाई दिशानिर्देश गर्ने सेतु भेटिन सक्छ । भ्रमणले हामीलाई नयाँ भविष्य निर्माणार्थ तत्कालीन भलाइका केही र राज्यसंयन्त्र तथा सुशासनमा दीर्घकालीन संरचानात्मक परिवर्तन ल्याउने विशेष काम गर्न सहयोग गर्न सक्छ ।
तत्कालीन हितका सम्भावना
चीन हाम्रो विकास निर्माणमा सहयोगी मित्रराष्ट्र हो । उसैको सहयोगमा अनेकौँ कल÷कारखाना सञ्चालनमा थिए । काठमाडाैँको चक्रपथसँगै बानेश्वरको अन्तर्राष्ट्रिय सभा भवन जीवित उदाहरण हुन् । भूकम्पको समयमा उद्धार, राहत तथा पुनस्र्थापनमा सहृदयी सहयोग पाइयोे । अहिले पनि ग्यासको भण्डारणगृह, तेलको पाइपलाइन निर्माण, सोलार ऊर्जा तथा विद्युत् उत्पादनमा सघाउने इच्छा बाहिरिएको सुनिन्छ, भ्रमणलाई हामीले सदुपयोग गर्नु पर्छ । हामी जहिल्यै भारतमा निर्भर भएकाले कतिपय परिस्थितिमा भारतका भित्री मनसायलाई मान्न बाध्य हुन्छौँ । भारतीय लेखक एसडी मुनिका थुप्रै पुस्तकमा नेपालको ‘इन्डिया ब्राकेटेड सेन्टिमेन्ट’ (भारतवेष्टित मनोविज्ञान)को चर्चा छ । अहिले वैदेशिक व्यापारको ७८ र सम्पूर्ण आयातको ९० प्रतिशत हिस्सा भारतबाट हुन्छ । तेस्रो मुलुकसँगको व्यापारमा पारवहन भारत भएरै गर्नु पर्छ । तसर्थ नरम एकाधिकारबाट बेला÷बेला असहजता झेल्नु पर्छ ।
यही बेला चीनका व्यापारीसमेत नेपालमा लगानी गर्न चाहन्छन् । चाइना विजिनेस रिभ्युका अनुसार सन् २००० ताका एक खर्ब डलर नजिक रहेको चीनको वैदेशिक लगानी आज ७०० गुणा बढी छ । चीनको अगुवाइ रहेको ‘एसियाली भौतिक संरचना निर्माण बैङ्क’ को प्रमुख ध्येय नै अन्तरदेशीय व्यापारमा लागनी हो । हामीले यी अवस्थाबाट लाभान्वित हुन चीनसँग सघन व्यापारको प्रयास गर्नु पर्छ । वास्तवमा हामी ‘ल्यान्ड लक्ड’ नभई ‘ल्यान्ड लिंक्ड’ राष्ट्र हौँ । संसारकै अधिक जनसङ्ख्या भएको महाशक्तिसँग स्थलगत जोडिएका छौँ ।
हामी भ्रमण दशकको प्रयासमा छौँ । आर्थिक महाशक्ति भएपछि चीनका नागरिकले घुमफिर तथा मनोरञ्जनसँगै भ्रमणमा निकै समय दिन थालेका छन् । ‘इन्भेस्टिङ अन बुद्धिस्ट सर्किट’ नामक प्रतिवेदनको ताजा तथ्याङ्क अनुसार अहिले संसारभर प्रतिवर्ष लगभग ३० करोड पर्यटकमा २५ प्रतिशत बौद्ध धर्मालम्बी छन् । चीनमा संसारकै २० प्रतिशत (लगभग साडे एक अर्ब) जनसङ्ख्यामा झन्डै ६५ प्रतिशत मानिस बुद्ध धर्म मान्छन् । मुख्य धर्मग्रन्थ त्रिपिटकले समेत बौद्ध अनुयायीलाई एकपटक लुम्बिनी पुग्नैपर्ने भन्छ । धर्मालवम्बीमा समेत लुम्बिनी पुग्ने उत्कट अभिलाषा देखिन्छ । उक्त स्थान हामीसँग हुनु भ्रमण दशक सार्थक बनाउने प्रमुख माध्यम हुन सक्छ । आतिथ्यतामा कहलिएका हामीसँग अन्य सांस्कृतिक र प्राकृतिक सम्पदासमेत प्रशस्त छन् । संसारका सबै बौद्ध अनुयायीलाई कम्तीमा जीवनको एक पटक र अधिक सङ्ख्यामा चिनियाँ नागरिकलाई लुम्बिनी भ्रमण गराउन सहजीकरण गर्दा हाम्रो लक्ष्यले ठुलै उचाइ पाउने छ ।
अहिलेको प्रधान ऊर्जा पेट्रोलियम केही दशकपछि समाप्त हुने कारण चीनलगायत सबै देशलाई वैकल्पिक ऊर्जा व्यवस्थापनको ठुलो चिन्ता छ । उक्त समयको एउटै भरपर्दो ऊर्जा विद्युत् हो । हामीसँग अथाह विद्युत् उत्पादन सम्भावना छ । अबको ५० वर्षपछि संसारमा आउने ऊर्जा सङ्कटलाई टार्ने सोचसहित अहिल्यैदेखि विद्युत् उत्पादन कार्यनीति बनाउँदा आज मध्यपूर्वका देशले तेल बेचेर कमाएको हैसियत हामीले विद्युत् बेचेर कमाउन सक्छौँ । चीन हाम्रो मुख्य बजार हुने छ ।
भूराजनीतिको दृष्टिकोणबाट हामी भारत तथा चीन दुवैको सुरक्षा कवच हौँ र दुवैसँग देशको हितमा प्रशस्त सौदाबाजी गर्न सक्छौँ । चीन यस विषयमा सधैँ सकारात्मक छ, प्रयास हामीले गर्नु पर्छ । यी तत्कालीन हितसँगै समाजवादको गन्तव्यमा चीनबाट सिक्नुपर्ने कुरा धेरै छन् ।
समाजवादी गन्तव्यको अनुकरण
समाजवाद शब्दको विश्वव्यापी चर्चामा महाशक्ति चीनले वर्तमान राष्ट्रपति ‘सी’को नेतृत्वमा गरेको अद्भुतपूर्व विकास अनि समृद्धिको मुख्य भूमिका छ । चीनमाथि भएका पछिल्ला सबै अध्ययनले चिनियाँ प्रगति उच्च रफ्तार र आयतनको भएको स्वीकार्छन् । पछिल्लो १० वर्षमा ६६० मिलियन मानिसहरू गरिबीको रेखाबाट उक्सिएको देखिन्छ । ‘सी’को समाजवादकै मार्गबाट चीन संसारको पहिलो अर्थतन्त्र बन्दै छ । २०३० सम्ममा ४०० मिलियन थप मानिस गाउँबाट सहरमा स्तरोन्नति हुँदै छन् । रेल र रोडको सञ्जाल झन्डै दोब्बर हुँदै छ । ५० वर्षका लागि ल्याइएको पछिल्लो योजनामा ३० वर्षभित्र चीनलाई संसारमा सबै कुरामा पहिलो बनाउने योजना समेटिएको सुनिन्छ । तसर्थ चीनले आयातित वस्तुदेखि विचार, प्रविधि, सञ्जालमा समेत आक्रमक अङ्कुश लगाई तीनलाई आफ्नै मौलिक विकास अभ्यासले प्रतिस्थापन गर्दै छ ।
समाजवादी अर्थतन्त्रको अभ्यासबाट चीनले पाएको सफल नतिजा समृद्धिका लागि प्रयासरत हामीलार्ई अनुकरणीय सभ्यता हो । विकासमा आर्थिकसँगै सामाजिक, भौतिक, सांस्कृतिकलगायत अन्य पक्षसमेत जोडिन्छ । जसलाई चिनियाँ समाजवादले राम्ररी अनुसरण गर्दै छ । चिनियाँबिच नागरिक एकता उच्चतम छ । देशसँगै सरकारप्रति आमचिनियाँको गहिरो सम्मान छ । भौतिक सम्पन्नतासाथै, मानवीय सभ्यता अनि आफूलगायत अरूकोे विकासमा चीन अग्रसर हुँदै छ । पछिल्लो १० वर्षमा चीनले उच्च औद्योगिक वृद्धि ग¥यो । त्यससँगै आएका अत्यधिक भ्रष्टाचार, सम्पत्तिमा असमान वितरण अनि प्रदूषणका समस्यामा पनि ऐतिहासिक र अकल्पनीय सुधार ल्यायो । दिगो विकास र सामाजिक स्थिरताका लक्षण प्रशस्त देखिए ।
समाजका सबै खाले पेसाकर्मी, व्यवसायी, उद्यमी, विद्यार्थी, सरकारी कर्मचारीलगायत सबैमा देशप्रति बढ्दो निष्ठा र समर्पण छ । कसरी आफ्नो काम सम्पादनमार्पmत सफल राष्ट्र निर्माणमा सघाउने भन्ने व्यग्र तृष्णा र सोही तहको सङ्कल्प देखिन्छ । समृद्ध र सभ्य देश निर्माणमा चिनियाँ नेतृत्व र नागरिक सबैले सकेको योगदान गर्दै छन् । न्याय, समानता, मानवीय स्वतन्त्रतामा समेत आशातीत सफलता र स्तरोन्नति हुँदै छ । हामीले यी गुणलाई यथासक्य अनुसरण गर्नु पर्छ । यी बहुआयामिक सम्भावनालाई उजागर र सम्भव बनाउँदा हाम्रो समृद्धिको साचेलाई सहयोग पुग्ने छ । भ्रमणको माध्यमबाट सुनौला सम्भावना खोज्न र कर्म गर्न समय खर्चनु पर्छ । चीन भ्रमण भविष्य निर्माण तथा सकारात्मक विकासको हाम्रो खोजीमा प्रमुख सारथि हुन सक्छ ।