• ४ जेठ २०८१, शुक्रबार

पर्यटकीय गन्तव्य बन्दै निकुञ्ज

blog

सिराज खान 

नेपालगन्ज, असोज ६ गते । दुर्लभ पाटेबाघको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको देशकै सबैभन्दा कान्छो निकुञ्जका रूपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन श्यामकुमार साहले निकुञ्ज स्थापना भएको १० वर्षमै पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेकाले यो निकुञ्जमा बाघ अवलोकन गर्नका लागि पर्यटक आउने क्रम पनि बढेको बताउनुभयो। उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु पाटेबाघ अवलोकनको गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यो निकुञ्ज पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जबाट करिब १६ किलोमिटरको दुरीमा पर्छ। 

सडक तथा हवाई यातायातको सहज पहुँच र एक दर्जनभन्दा बढी तारे होटलको सुविधा भएका कारण बाँके निकुञ्जको अवलोकनमा पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। निकुञ्ज क्षेत्रमा तीन सय प्रजातिका चरा, ३४ प्रजातिका स्तनधारी जनावर र २४ प्रकारका घस्रिएर हिँड्ने जनावर छन्। 

निकुञ्ज प्रमुख साहले बाँके निकुञ्जले बुच्चापुर र खड्गवारमा हात्तीसार स्थापना गरेर छ वटा घरपालुवा हात्तीबाट पर्यटकलाई निकुञ्जको जङ्गल क्षेत्र घुमाउने र दुर्लभ वन्यजन्तु पाटेबाघको अवलोकन गराउन थालेको बताउनुभयो। उहाँले निकुञ्ज क्षेत्रमा पैदल भ्रमण गर्न चाहने पर्यटकका लागि १०९ किलोमिटर वनपथ निर्माण गरिएको पनि बताउनुभयो। 

होमस्टे सञ्चालक कृष्ण चौधरीले निकुञ्ज घुम्न आउनेले वन्यजन्तु, प्राकृतिक सौन्दर्यका साथै स्थानीय संस्कृति हेर्न, विभिन्न परिकारको स्वाद लिन, हात्ती र जिप सफारी तथा  र्‍याफ्टिङ गर्न सक्ने भएपछि पर्यटक बढ्दै गएका बताउनुभयो। 

उहाँले बाँके निकुञ्जपश्चिमका पर्यटकीय क्षेत्र पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको पनि उल्लेख गर्नुभयो। बाँकेका पर्यटन व्यवसायीका अनुसार पश्चिम नेपालमा भारतीय पर्यटकलाई आकर्षित गर्न सक्ने धेरै आधार छन्। त्यसैले भारतबाट आउने पर्यटकलाई सीमा नाकालगायत अन्य कुनै पनि ठाउँमा असहज अवस्था आउन दिन नहुने उहाँको भनाइ छ।  

उहाँले निकुञ्जको भ्रमणका लागि हात्ती तथा जिप सफारी, साइक्लिङ र हाइकिङको सुविधा उपलब्ध गरिएकाले पर्यटकीय चहलपहल बढ्दै गएको बताउनुभयो।