• २९ मंसिर २०८१, शनिबार

धार्मिक कार्यक्रममा ध्वनि प्रदूषण नियन्त्रणबाहिर

blog

गणेश भगवानको मूर्ति जलप्रवाह गर्न जाँदा चर्को स्वरमा डिजे बजाउँदै बजार परिक्रमा गर्दै । तस्बिरः जीवछ यादव

जीवछ यादव

लाहान, असोज ५ गते । धार्मिक र सांस्कृतिक कार्यक्रमबाट हुने प्रदूषण नियन्त्रण हुन सकिरहेको छैन । पटक पटक सरोकारवाला निकायले थालेको प्रयास सफल नहुँदा स्थानीयहरु चिन्तित भएका छन् । 

यहाँ आयोजना हुने विभिन्न धार्मिक पूजा, किर्तन र सांस्कृतिक कार्यक्रम होस् चाहे मुस्लिम समुदायले शुक्रबार मदर्सा र अन्य धार्मिक जल्साहरु गर्दा चर्को आवाजमा बजाउने डिजे (साउण्ड) का कारण प्रदूषण नियन्त्रण बाहिर गएको लहानका स्थानीयले गुनासो गरेका छन् । 

अन्तरधार्मिक हातेमालो सम्बाद कार्यक्रम अन्तर्गत तीन वर्ष अघिदेखि लहानका हिन्दु समाजका अगुवाहरु र मुस्लिम समाजका अगुवालाई राखेर धार्मिक काममा  अरुलाई बाधा हुनेगरी चर्को ध्वनिमा ध्वनि उपकरण डिजेहरु नबजाउन गरेको प्रयास केही दिन नियन्त्रण रहे पनि अहिले फेरि नियन्त्रण बाहिर जान थालेको संवाद कार्यक्रमका सदस्य रामनारायण मेहताले बताउनुभयो । 

उहाँका अनुसार हातेमालो संवाद कार्यक्रममा रहेका हिन्दु मुस्लिम समुदायका अगुवाहरु वडाका जनप्रतिनिधि, सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरु मिलेर विवाहको समयमा लहरे धार्मिक चाडपर्वहरु आउने बेलामा जनचेतनामूलक कार्यक्रमहरु अघि बढाउनुपर्ने आवश्यकता छ । 

लहान नगरपालिका –५ का पूर्व वडाध्यक्ष समेत रहनु भएको मो सुलेमान अन्सारी भन्नुहुन्छ, ‘मुस्लिम समुदायका मदर्सा र अन्य धार्मिक जल्साहरुमा अडिजेबाजा बजाउन पटक पटक आग्रह गर्दा केही समय नियन्त्रणमा आए पनि फेरि नियमको उल्लङ्घन भइरहेको छ । हिन्दु मुस्लिम दुबै समुदायको धार्मिक सांस्कृतिक कार्यक्रमलाई नियन्त्रण गर्न लाहान नगरपालिका जनप्रतिनिधिहरु  जिम्मेबार हुनुपर्छ ।’

प्रहरीलाई देखेपछि ध्वनि कम गरेर बजाउँछन्, प्रहरी गएपछि फेरि चर्को ध्वनिमा डिजेबाजाहरु बजाउने गरेको इलाका प्रहरी कार्यालय लहानका नायब प्रहरी उपरीक्षक भोला भट्टले बताउनुभयो । ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरीले कडा कारवाही गरेमा धार्मिक कार्यमा बाधा पुग्यो भनेर गुनासो हुने उहाँले बताउनुभयो ।