• १ जेठ २०८२, बिहिबार

महानगरमा ‘स्वच्छ भान्सा, आरोग्य जीवन’ कार्यक्रम

blog

काठमाडौं, असोज ५ गते । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले मातहतका सेवाको वार्षिक समिक्षा गर्दै ‘स्वच्छ भान्सा, आरोग्य जीवन’ कार्यक्रम सुरु गरेको जनाएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्वास्थ्य क्षेत्रलाई लैङ्गिक, सामाजिक तथा मानसिक अवस्था, सहरी आचरण, खानपान, बजारलगायतका कोणबाट हेरेर सेवा वितरणमा सन्तुलन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नागरिकलाई रोगबाट बचाउन आहार, विहार, आचार विचारसँग सम्बन्धित स्वच्छ भान्सा, आरोग्य जीवनलगायत कार्यक्रम थालिएको छ । रोग लागेको बिरामीको सहज, सरल र पहुँच योग्य उपचारका लागि सुलभ फार्मेसीलगायत कार्यक्रम कार्यान्वयन चरणमा ल्याइएको छ ।” उहाँले यसको सफल कार्यान्वयन गरेर सेवाग्राहीको सङ्ख्या बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नंं ११ का अध्यक्ष एवम् भवन समितिका संयोजक हीरालाल तण्डुकारले स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रविधिमा आधारित हुने भएकोले प्रविधिमा अभ्यस्त हुन र सेवाग्राहीमैत्री व्यवहारबाट बिरामीको मन जित्न आग्रह गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेले स्वास्थ्य क्षेत्र सुधारका लागि केन्द्र सरकारले लिएका लक्ष्य कार्यान्वयनको अवस्था पालिकाले प्राप्त गरेको नतिजामा देखिने धारणा राख्नुभयो ।

समीक्षामा प्रस्तुतीकरण गर्दै स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनले, स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना, स्वास्थ्य ऐन निर्माण, अनलाइन प्रणालीमा आधारित औषधि तथा औषधिजन्य सामग्री वितरण गएको वर्षका उपलब्धि भएको महर्जनको भनाइ थियो ।

उहाँकाअनुसार सबै वडा क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा सञ्चालन गर्ने लक्ष्यअनुरुप वडा नं. १, ७, ८, ९, १४, १९, २६ र ३० गरी ८ वटा वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा आइसकेका छन् ।

वडा नंं ३, ५, ६, १०, ११, १२, १७, १८, २२, २७ र २८ गरी ११ वटा वडामा पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । वडा नं. २, १३, १६, २०, २१, २३ र २४ मा स्थान पहिचान भइसकेको छ । पूर्वाधार निर्माणको काम बाँकी छ ।

बाँकी ६ वटा वडामा स्थान पहिचानको प्रक्रिया चलिरहेको छ । महानगरपालिकाले आउँदो ६ महिनाभित्र २० वटा वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्ने लक्ष्य राखेको छ ।  विभागले महानगरपालिकाभित्र दुई हजार एक सय वटा निजी स्वास्थ्य संस्थाको विवरण देखिएका छन् ।