• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल

blog

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: एजेन्सी

काठमाडौँ, असोज ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गर्नुभएको छ ।

भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताउँदै उहाँले संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले हतियारमा खर्च बढ्दै जाँदा २०३० को एजेन्डा कार्यान्वयनका लागि स्रोतसाधनको अभाव भएको बताउनभयो । यस्तो परिस्थितिलाई सच्याउँदै शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डले विश्व समुदायलाई अपिल पनि गर्नुभएको छ । नेपालको राजनीतिक गतिले स्थिर आकार लिएकाले अब नेपालको ध्यान आर्थिक रूपान्तरणको एजेन्डामा रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

वर्तमान सरकार विकासका कामलाई तीव्रता दिन र सुशासनलाई सुनिश्चित गर्न सम्पूर्ण शक्ति र स्रोत परिचालनमा केन्द्रित रहेको समेत उहाँले बताउनुभयो । दिगो विकास लक्ष्यलाई विकासको भिजन र प्राथमिकताको केन्द्रमा राखेर काम गर्दै आएको समेत प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

यद्यपि, कोभिड–१९ महामारी, जलवायु परिवर्तन र बढेको भू–राजनीतिक प्रतिस्पर्धा जस्ता सङ्कटहरूले दिगो विकास लक्ष्यमा भएको प्रगतिलाई खतरामा पारेको उल्लेख गर्दै उहाँले विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, निर्यात प्रवर्द्धन, प्रविधि हस्तान्तरणमा परिवर्तित स्तरको अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गर्नुभयो ।