काठमाडौं, असोज ३ गते। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा जोडबल गर्न आफ्नै पार्टीका नेतालाई आग्रह गर्नुभएको छ।
बुधवार बिपी साहित्य महोत्सव २०८० मा आयोजित ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै नेता सिटौलाले कांग्रेसका नेताहरुले संविधान कार्यान्वयनमा जोडबल गर्नुपर्ने बताउनुभएको हो।
उहाँले संविधानलाई एकपटक कार्यान्वयन गरेर मात्रै मूल्यांकन र पुनरावलोकन गर्न सुझाव दिनुभयो। उहाँले संविधान कार्यान्वयनको सन्दर्भमा गाडि किनेर ल्याउने तर तेल नहाल्ने र ड्राइभर नराख्ने अवस्था भएको टिप्पणी गर्नुभयो।
उहाँले आफूले संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसपछिको दुई कार्यकाल आफू संसदमा प्रवेश गर्न नपाउनुलाई ‘ट्राजेडी’ को संज्ञासमेत दिनुभयो। नेता सिटौलाले संविधान जारी भएपछि नेपालको विकास मोडेलमा पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो।
उहाँले पुरानै केन्द्रिकृत तथा एकात्मक सोचले संविधानको कार्यान्वयन गर्न नसकिने बताउनुभयो। केन्द्रिकृत मानसिकतालाई परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।