• २८ वैशाख २०८२, आइतबार

संविधान दिवसको अवसरमा रक्तदान

blog

रक्तदान गर्नुहुँदै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, असोज ३ गते। संविधान दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले महत्त्वपूर्ण दिनमा सबैभन्दा उत्कृष्ट दान ‘रक्तदान’ गर्ने पुण्य कार्य भएको बताउनुभयो। 

उहाँले मुलुकले नयाँ ऐतिहासिक संविधान पाएको दिनको सन्दर्भ उल्लेख गर्नुहुँदै यस दिनलाई सभ्य र भव्य रुपले मनाउन आवश्यक रहेको जनाउनुभयो। परिवर्तनलाई संस्थागत गर्दै संविधानको कार्यान्वयनको अनूभूति दिलाउन सबै निकायले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले मुलुकले नयाँ संविधान पाएको नवौ वर्ष प्रवेशको सुअवसरमा रक्तदान गरिनु अर्को सुखद समाचार भएको बताउनुभयो। घरघरमा दिपावली गरिरहेको बेला बिरामीको ज्यान जोगाउन गरिएको प्रयास राम्रो भएको उहाँको भनाइ छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्तसहित १७ जनाले रक्तदान गर्नुभएको नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो। संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटीले चौरजहारीमा सञ्चालन गरेको ब्लड बैंकमा उपलब्ध गराइएको छ। 

सरकारी कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, पत्रकार र गैरसरकारी निकायका व्यक्तिले स्वतस्फूर्त रुपमा रक्तदान कार्यमा सहभागी भएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो। 

मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताल, नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखा र उपशाखा चौरजहारीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा रक्तदान गर्ने रक्तदाता र प्राविधिक सहयोग गर्ने स्वास्थ्यकर्मीलाई महासंघको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो।