• १३ मंसिर २०८१, बिहिबार

सुवासमा मिलाएर लैजान सक्ने अद्भुत क्षमता थियो : मुख्यमन्त्री शाह

blog

प्रकाशविक्रम शाह

धनगढी, असोज ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुवास नेम्वाङमा सबैलाई मिलाएर लैजान सक्ने अद्भुत क्षमता रहेको बताउनुभएको छ । नेकपा (एमाले ) सुदूरपश्चिम प्रदेश कमिटीले मङ्गलबार धनगढीमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले भन्नुभयो, उहाँका कर्मले अहिले नेम्वाङ जनजनको मनमा बस्नु भएको छ ।

सोही कार्यक्रममा बोल्दै  एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सुवासलाई संविधान सभाको नेतृत्वकर्ताका रूपमा मात्रै बुझ्न नहुने बताउँदै उहाँ बहुप्रतिभाका धनी भएको चर्चा गर्नुभयो । नेता पौडेलले नेम्वाङको निधनले नेपाली राजनीतिक क्षेत्रमा अतुलनीय क्षति पुगेको पनि बताउनुभयो ।

‘सुवास नेम्वाङ संविधान सभाका नेतृत्वकर्ता हुनुहुन्थ्यो नै, उहाँमा जस्तोसुकै असहज परिस्थितिको सामना शालीनतापूर्वक गर्ने सामर्थ्य थियो नेता पौडेलले भन्नुभयो, उहाँ नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताका पर्यायका रूपमा स्थापित हुनुभयो ।

फरकफरक सिद्धान्तका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा उहाँमा थियो एमाले उपाध्यक्ष पौडेलले भन्नुभयो । एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले उहाँले भावुक हुँदै भन्नुभयो, मलाई उहाँको तस्बिर हेर्दा कतै माननीय सदस्यहरू भनिहाल्नु हुन्छ कि जस्तै भइरहेको छ । उहाँको तस्बिर हेर्दा, कतै बोलिहाल्नु पो हुन्छ कि भन्ने लागिरहेको छ । तर त्यो सत्य हो, उहाँले भौतिक शरीर छोडेर जानुभयो, तर उहाँ हामी माझमै हुनुहुन्छ ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टले नेम्वाङ जस्तो शालीन सभामुख अब कहिल्यै नपाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ संविधान सभाको नेतृत्वकर्ता मात्रै होइन, एक शालीन र सभ्य नेता हो, उहाँको मनमा कहिल्यै कसैप्रति रिसराग देखिएन, त्यसैले देशले नेम्वाङको कमी कालान्तरसम्म महसुस गरिरहने छ ।