• १९ असार २०८१, बुधबार

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

blog

मीना कँडेल

कावासोती, असोज ३ गते । पूर्वी नवलपरासी कावासोतीका माझी, मुसहर र बोटे समुदायका मानिस वैकल्पिक पेसातर्फ उन्मुख हुन् थालेका छन्। 

सन्तबहादुर माझीले माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्न थालेको बताउनुभयो। अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय  सिकर्मी डकर्मी पेसातर्फ उन्मुख भएका छन्। कावासोती–७ साँढको मुसहर बस्तीका १८ घर मुसहर परिवार माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेको छ। नदीमा माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायलाई वैकल्पिक पेसातर्फ उन्मुख गराउन सामाजिक संस्थाको उल्लेखनीय भूमिका रहेको छ। 

स्थानीय रमिया मुसहर पनि पुख्र्यौली पेसामा सङ्कट आउन थालेपछि आफूहरू वैकल्पिक आयआर्जनको बाटोतर्फ लागेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “हुन त हाम्रो परम्परागत पेसा माछा मार्ने नै हो तर यो पेसामा समस्या आउन थाल्यो, नदीमा माछा पाइन छाड्यो, निकुञ्जको निगरानी पनि बढ्दै गयो, गैँडा, बाघ जस्ता जङ्गली जनावरको जोखिमसँगै मुसहर समुदाय पेसा परिवर्तनतर्फ लागेका हौँ।” 

पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आएका स्थानीय धर्मबहादुर मुसहर मछुवारी पेसाभन्दा खेती किसानीले नै परिवारमा केही खुसियाली थपिएको बताउनुहुन्छ। नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो विपन्न समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयासमा रहे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र घरनजिकको सामूहिक प्लटमा आफैँले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुर मुसहरकहाँ ग्राहक झुम्मिने गर्दछन्। उहाँले लुँडे, खोले साग, फर्सीको मुन्टा, लोकल खुर्सानी, केरुङ साग, मकै, बोडी र ताजा निगुरो बेच्नुहुन्छ। कावासोती नगरपालिकामा प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार तीन दिन बमबहादुर साइकलमा तरकारी बोकेर हाट लाउन फलफूल चोक आउने गर्नुहुन्छ । 

उहाँले भन्नुभयो, “नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको हाम्रो परिवार अहिले तरकारी बेच्न हाटबजार आउने गरेका छौँ। पुगेसम्म त आफैँले उत्पादन गरेका तरकारी बेच्छु, व्यापार त गर्नै पर्छ कहिलेकाहीँ स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेको छु। काँधमा जाल बोकेर नदीमा जानुपर्ने साइकलमा तरकारी बोकेर हाटबजार आएको छु, वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ। तरकारी बेचेर राम्रै कमाइ भएको छ।”

त्यसो त यहाँको मुसहर समुदायले बस्ती छेवैको खाली जग्गामा खनिएको माछा पोखरीमा रहु, नैनी, कमनलगायतका उन्नत जातका माछा पालेर थप आयआर्जन पनि गर्ने गरेका छन्। पहिले पहिले तराई क्षेत्रमा आवादी खुले पनि राज्यसँगको पहुँच नहुँदा जग्गा, जमिन जोड्ने कुराबाट वञ्चित मुसहर समुदाय कतिपय स्थानीय बस्तीका किनारमा झन्डै दुई पुस्तादेखि भूमिहीन अवस्थामै छन्।