• १३ मंसिर २०८१, बिहिबार

बुढीगङ्गामा दुइटा पक्की पुल बन्दै

blog

बाजुरा समाचारदाता

बाजुरा, असोज ३ गते । बाजुराको बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय खुसी भएका छन् । बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो । 

बर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आएका स्थानीय नगरवासीले पुल निर्माण भएमा धेरै कुराको सहज हुने बताएका छन् । त्रिवेणी नगरपालिका –८, रत्न माविका शिक्षक मानबहादुर ऐडीले भन्नुभयो, “हिउँदमा गाडी गुड्ने गाउँबस्ती बर्खाको समय सुनसान हुन्छन् ।” पुलको अभावमा यातायातका साधन बुढीगङ्गा नगरपालिका–६ को बाम्कामै रोकिने गरेका छन् । पुल निर्माण हुन लागेपछि बल्ल यहाँका स्थानीयको मुहारमा खुसी आएको त्रिवेणी नगरपालिका–८ का वडाध्यक्ष गगनजङ्ग बुढाले बताउनुभयो ।

नगरपालिका प्रमुख कर्णबहादुर थापाले सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालय अछामले यो वर्ष बुढीगङ्गा नदीमा दुई वटा पक्की पुल निर्माणको काम सुरु गरेको जानकारी दिनुभयो । बुढीगङ्गा वडा नम्बर १ र त्रिवेणी नगरपालिका वडा नम्बर ९ को  बिचमा रहेको रिन्टे खोला र बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा पक्की पुल निर्माण हुँदै छ । 

 बुढीगङ्गा वडा नम्बर २ र त्रिवेणी वडा नम्बर ९ को बिचमा पर्ने रिन्टे खोला ८० मिटर पुल निर्माणका लागि १० करोड रुपियाँ र 

बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी नगरपालिका वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा ११० मिटर लम्बाइ पुल निर्माणका लागि १६ करोड रुपियाँ विनियोजन भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख दिवस बस्नेतले बताउनुभयो ।

त्यसै गरी त्रिवेणी वडा नम्बर ८ र ४ को बिचमा रहेको मालागाड खोलामा पनि ७५ मिटर लम्बाइको पक्की पुल बन्ने भएको छ । नौ करोड रुपियाँ लागतमा बन्ने सो पुलको काम सुरु भइसकेको पूर्वाधार विकास कार्यालय प्रमुख रुद्र बोगटीले बताउनुभयो ।