• १० पुस २०८२, बिहिबार

छोराछोरी बिद्यालय पठाएर आमाहरु सिलाइकटाइमा

blog

सिलाइकटाइ तालिममा सहभागी जिल्लाका विभिन्न ठाउँका आमाहरु । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), पुस १० गते । मदाने गाउँपालिका –३ सिर्सेनीकी मिना अर्यालले छोराछोरी बिद्यालय पठाएपछि ११ बजे गुल्मी उद्योग बाणिज्य संघको हलमा सिलाइकटाइ सिक्न आउनुहुन्छ । 

उहाँले केही समय पहिले पैसा तिरेर पनि केही समय सिलाइकटाइ सिके पनि पूरा गर्न सक्नु भएको थिएन् । श्रीमान भोजराज अर्याल नेपाली सेनामा कार्यरत हुनुहुन्छ । मिना छोराछोरी पढाउन गाउँबाट सदरमुकाम तम्घास आएर बस्नु भएको छ । 

छोराछोरी बिद्यालय पठाएपछिको फुर्सदिलो समयको सदुपयोगमा अर्याल हुनुहुन्छ । उहाँले भन्नुभयो, “आफ्नो हातमा सीप भएपछि व्यवसाय नगरे पनि आफूलाई काम चल्छ । तर, व्यावसायिक रुपमा उद्यम गर्ने सोँचका कारण तालिममा आएकी हुँ ।” गुल्मीदरवार –७ चारपालाकी सीता विक सुनारले गाउँमै सिकेर सिलाइकटाइको आधारभूत ज्ञान प्राप्त गर्नुभएको थियो । 

अहिले तम्घासमा छोराछोरी पढाउन आउनुभएको छ । श्रीमान साउदी गएका पाँच–सात बर्ष भए । उहाँ पनि छोराछोरी बिद्यालय पठाएपछि बिहान ११ बजेबाट ४ बजेसम्म सिलाइकटाइको अभ्यासमा व्यस्त हुनुहुन्छ । 

इस्मा गाउँपालिका –३ दलार्मचौरकी दिलकुमारी नेपालीका श्रीमान रामबहादुर नेपाली परदेश हुनुहुन्छ । पहिलेनै आधारभूत ज्ञान र घरमै मेसिन भएकाले सिलाइकटाइ गर्दै आउनुभएको छ । नयाँ सीपको लागि अहिले तालिममा सहभागी हुनुहुन्छ । उहाँले सबै साथीहरुको केही न केही सीप रहेकाले व्यवसायमा जोडिए राम्रोसँग घरखर्च चलाउन सकिने बताउनुभयो । 

रेसुङ्गा नगरपालिका –६ की पार्वती अर्यालले छोराछोरीलाई बिद्यालय पठाएपछि तालिममा आउनुहुन्छ । श्रीमान लेखनाथ अर्याल शिक्षक हुनुहुन्छ । उहाँको सीपमा श्रीमान र परिवारको सहयोग छ । 

ब्राह्मणको छोरीबुहारीले सिकाइकटाइ गर्न नहुने सामाजिक सोँच भए पनि आफूलाई सधै सहयोग रहेकाले पहिले पनि भारतीय पेन्सन क्याम्पमा निःशुल्क ६ महिने सिलाइकटाइ तालिम लिएको अर्यालले बताउनुभयो । उहाँले सीपमा जात नहुने बताउनुभयो । 

घरेलु तथा साना उद्योग कार्यालयले रेसुङ्गा नगरपालिकाको समन्वयमा ४५ दिन एडभान्स सिलाइकटाइ तालिम सञ्चालन गरेको छ । प्रशिक्षक श्यामकला भलामीले सवै दिदीबहिनी सिक्न उत्साहित भएर आएको बताउनुभयो ।

उहाँले सबै आमाहरु भएकाले कसैले छोराछोरी सँगै लिएर समेत समयमै तालिममा आएर बस्ने गरेको बताउनुभयो । भलामीका अनुसार सीपमा दक्षता भएपछि मेसिन, आइरन र टेबुल गरेर करिव ३५ हजार रुपियाँ अगानी भए व्यावसायिक रुपमा काम गर्न सकिने बताउनुभयो । १४ बर्षको उमेरबाट सिलाइकटाइ गरिरहनु भएकी भलामी घरेलुकै तालिमबाट व्यवासाय गर्ने र प्रशिक्षक समेत हुनुहुन्छ ।  

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले सबै पालिकामा माग र आवश्यकताको आधारमा विभिन्न तालिमहरु सञ्चालन भइरहेको बताउनुभयो । उहाँले तालिममा राज्यको थुप्रै रकम लगानी भएकाले प्रमाणपत्र मात्र हाँसिल गर्ने भन्दा व्यवहारमा उद्यम गरेर अर्थोपार्जन गर्न आग्रह गर्नुभयो ।