• १० पुस २०८२, बिहिबार

देवघाट क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने

blog

देवघाटधाम क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र घोषणाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी 

चितवन, पुस १० गते । हिन्दु धर्माबलम्बीहरुको प्रमुख धार्मिक क्षेत्रको रूपमा परिचित देवघाटघाम क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले दिनुभएको जानकारी अनुशार प्लाष्टिक निषेधित क्षेत्र घोषणाको औपचारिकता मात्र बाँकी छ । 

प्लास्टिकजन्य सामग्रीको प्रयोग क्रमशः निषेध गरिने प्रकृया अन्तरगत घोषणापश्चात देवघाटधाम क्षेत्रभित्र तत्कालको लागि ४० माइक्रोन भन्दा पातलो झोला पूर्णरुपमा निषेधित गरिने छ । वैकल्पिक रूपमा जैविक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।

अध्यक्ष लौडारी भन्नुहुन्छ, ‘नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको संवैधानिक व्यवस्था गरेको छ । सोही मान्यताले समितिले संरक्षण र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको हो ।’ उहाँले धार्मिक क्षेत्रमा बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती विकास, आधुनिक जीवनशैली तथा सार्वजनिक स्थलहरुको अतिक्रमणले चुनौती थपिएको बताउनुभयो । प्लाष्टिक जन्य फोहरकै कारण धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं वातावरणीय सम्पदाहरुको संरक्षण र सम्बर्धन एक चुनौतीको रुपमा रहदै आएको र देवधाटधाम क्षेत्र पनि अछुतो नरहेको उहाँको भनाइ थियो ।

अध्यक्ष लौडारीले भन्नुभयो, ‘प्लाष्टिक मुक्त क्षेत्र भएसंगै देवघाट क्षेत्रको सरसफाई थप प्रभावकारी बन्ने स्वच्छ, स्वस्थ, सफा, सुन्दर, सभ्य र समृद्ध देवघाट निर्माणमा कोशेढुंगा हुनेछ । देवघाटसंगै नारायणी नदीको स्वच्छतामा पनि सकारात्मक प्रभाव पर्नेछ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाटको ऐतिहासिक एवं धार्मिक महत्वलाई दिगो रुपमा कायम राख्नका लागि प्लाष्टिक निषेध महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार समितिको यो अभियानलाई स्थानीय तहको पूर्ण साथ रहेको छ । तनहुँ, चितवन र पूर्वी नवलपरासी जिल्लाको संगम देवघाट क्षेत्र अन्तरगत भरतपुर महानगरपालिका, गैडाकोट नगरपालिका र देवघाट गाउँपालिका पर्दछन् ।

कार्यकारी निर्देशक बरालका अनुसार प्लाष्टिक मुक्त क्षेत्र अभियानमा देवघाट क्षेत्र विकास समितिको अगुवाईमा स्थानीय तह बिच नीतिगत तथा कार्यगत समन्वय तथा सहकार्य भइसकेको छ । सहजताको लागि विश्व वन्यजन्तु संरक्षण अभियान (डब्लु डब्लु एफ) नेपाल, सहमति संस्था, नदी सगै अभियानमा आवद्ध संघ संस्थाहरुविच चरणचरणमा वार्ता र छलफल भइसकेको छ । 

उहाँका अुनसार देवघाट क्षेत्रमा प्लाष्टिक बोटलको लागि छुट्टै प्रकारका बोटलविन, प्लाष्टिकको लागि प्लाष्टिकविन, दाहसंस्कार स्थलमा ब्लेडविन र अन्य स्थानमा आवस्यकताअनुसार डष्टविनको व्यवस्था गरिएका छन् । 

स्थानीय मठ मन्दिरका पिठाधीशहरु, व्यवसायीहरु, स्थानीय बासिन्दा एवं सरोकारवाला निकायहरुसँग पटकपटक छलफल र समन्वय बैठक सम्पन्न भएका छन् । सरोकारवाला पक्षसंगको छलफल र सहकार्यबाट देवघाटधामलाई स्वच्छ, पवित्र, हराभरा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने साझा लक्ष्य लिइएको हो ।

चितवनको मुख्य बजार नारायणगढ देखि पाँच किलोमिटर दुरीमा रहेको देवघाट क्षेत्रमा माघे सक्रान्ति, बाला चतुर्दशी, औंशी र एकादशीहरुमा मेला लाग्ने गर्दछ । भगवान् नारायणका शरीरबाट उत्पन्न दामोदर कुण्डबाट प्रभाहित कृष्णगण्डकी (काली गण्डकी) र भगवान् शङ्करका त्रिशूल प्रहारबाट उत्पन्न गोसाई कुण्डबाट प्रभाहित त्रिशूलीगङ्गा (त्रिशूलीनदी) को समागम र त्यसपछिको नारायणी नदीको एकरूपता नै यस भूमिको मूलभूत विशेषता हो । हिन्दु धर्मग्रन्थहरुमा वर्णन गरिए अनुसार यो क्षेत्रमा समय समयमा देबताहरु टहल गर्न आउने गर्दछन् ।

देवघाट क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्न त सकिएला तर, त्यसको कार्यान्वयन त्यति सहज छैन् । बेलाबखत लाग्ने मेला र महोत्सवले देवघाट क्षेत्रलाई फोहरले कुरुप बनाउने गर्दछ । त्यसमा पनि माघे सक्रान्ति, साउने सक्रान्ति, बाला चतुदर्शी, एकादशी जस्ता पर्वमा यस क्षेत्रमा आउने भक्तजनहरुलाई सुसुचित बनाउन धेरै समय लाग्न सक्छ ।