• ११ मंसिर २०८१, मङ्गलबार

‘सडकबाट शिक्षकका समस्या समाधान हुन्न’

blog

काठमाडौँ, असोज ३ गते । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सार्वजनिक विद्यालयका शिक्षकहरू आफ्ना मागबारे सरकारलाई जानकारी नै नगराई आन्दोलनमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उहाँले सडक आन्दोलन गरेर मात्रै माग पूरा नहुने भएकाले वार्ता र छलफलमा आउन शिक्षकलाई अनुरोध गर्नुभयो । शिक्षकका माग सम्बोधन गर्नकै लागि विगतमा मन्त्रीपरिषद्ले पारित गरिसकेको विधेयकमाथि थप एक महिना छलफल गरेर सरोकारवालाको सहमतिमा टु्ङ्ग्याएको बताउँदै उहाँले भन्नुभयो, “तर, विधेयक संसद्मा दर्ता भएपछि शिक्षक महासङ्घद्वारा आफ्नो असन्तुष्टि सरकारलाई भनिएन । हामीसँग कुरा नै नगरी अकस्मात् उहाँहरू आन्दोलनमा जाने निर्णय गर्नुभयो ।”

विगतको शिक्षा ऐनसँग जोडिएका हरेक विषयलाई समावेश गरेर विधेयक ल्याइएको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रले धान्ने र संविधानको परिधिभित्र रहेका शिक्षकका माग पूरा गर्न सरकार तयार रहेको बताउनुभयो । गत साता संसद्मा पेस भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै पछिल्लो समय सार्वजनिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारी शिक्षकलाई वार्ता र छलफलबाट समस्या समाधान गर्न अनुरोध गर्दै उहाँले भन्नुभयो, “छलफलबाट समाधान नहुने समस्या छैन । सडकबाट होइन, वार्तामा बसेर समस्या समाधान गरौँ ।” मुलुकको शिक्षा सुधारका लागि सरकार थुप्रै नीतिगत सुधारमा लागेको बताउँदै उहाँले सामूहिक पहलबाट मात्रै शिक्षामा गुणात्मक सुधार गर्न सकिने बताउनुभयो । उहाँले सरकारले चिकित्सा क्षेत्रमा सुधारका लागि अग्रसरता लिइसकेको पनि बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आन्दोलनरत शिक्षकलाई वार्ताका माध्यमबाट समस्या समाधानमा लाग्न अनुरोध गर्नुभयो । 

शिक्षा दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोत्कृष्ट शैक्षिक संस्थालाई पुरस्कृत गरेको छ । ती शैक्षिक संस्थाको वार्षिक नतिजालगायतलाई आधार मानेर पुरस्कृत गरिएको मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । सार्वजनिक विद्यालयतर्फ सिन्धुली, दुधौलीको कमला माविले सर्वोत्कृष्टको पहिलो स्थान, सिन्धुली ढुङ्ग्रेबासको कमला माविले दोस्रो स्थान र सल्यान कुमाखको नारायण माविले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै निजीतर्फ पहिलो स्थानमा ललितपुर मानभवनको प्रसादी एकेडेमी, दोस्रो स्थानमा काठमाडौँ माइतीघरको सेन्ट जेभियर्स कलेज र तेस्रो स्थानमा काठमाडौँ बूढानीलकण्ठको बूढानीलकण्ठ स्कुल छनोटमा परेका छन् । सामुदायिक र निजी दुवैतर्फ पहिलोलाई तीन लाख, दोस्रोलाई दुई लाख र तेस्रोलाई एक लाख रुपियाँका साथै सिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरिएको छ । 

त्यस्तै प्राविधिक शिक्षालयमा सामुदायिकतर्फ विराटनगरको आदर्श मावि, रुपन्देहीको कोरिया–नेपाल पोलिटेक्निकल इन्स्टिच्युट, मोरङको मनमोहन मेमोरियल पोलिटेक्निकल र झापाको लाइफ लाइन अस्पताल प्रालिलाई पनि पुरस्कृत गरिएको छ । यी सबै संस्थालाई ध्वजा र एक लाख रुपियाँ प्रदान गरिएको हो । 

त्यस्तै उच्च शिक्षा प्रदायक संस्थामध्ये उत्कृष्ट आङ्गिकतर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पसतर्फ लुम्बिनी वाणिज्य क्याम्पस र निजीतर्फ काठमाडौँ मोडेल कलेज, बागबजार काठमाडौँ उत्कृष्ट क्याम्पसका रूपमा पुरस्कृत भएका छन् । ती क्याम्पसलाई दुई लाख ५० हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।