• १६ असोज २०८०, मङ्गलबार

वडाध्यक्ष कप भलिबल उपाधि थुम्बेदिनलाई

blog

भलिबल उपाधि बिजेतालाई पुरस्कार रकमसहित ट्रफी वितरण गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २ गते। पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनले तिरिङ्गेलाई पराजित ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सोही गाउँपालिका–३ तिरिङ्गेलाई ३–२ को सेटमा हराउँदै थुम्बेदिनले वडाध्यक्ष कप भलिबल उपाधि जितेको हो।

फुङ्लिङ नगरपालिका–८ दोखुले आयोजना गरेको प्रथम वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि लागि थुम्बेदिनले दोस्रो खेलमा २५–२१, तेस्रोमा २५–१९ र अन्तिम अर्थात् पाँचौँमा १५–१३ को सेटमा जित हासिल गरेको थियो। यस्तै तिरिङ्गेले भने पहिलो र चौथो दुई खेल मात्र २५–२१ र २५–२१ को सेटमा जितेको थियो। 

उपाधि विजेता थुम्बेदिनले ८० हजार रुपियाँ नगद पुरस्कारसहित प्रथम कप (ट्रफी), मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। तिरिङ्गेले भने उपविजेतामा सीमित बन्दै ५० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ। 

राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो। गएको शनिबार सुरु भई मङ्गलबार सम्पन्न भएको प्रतियोगितामा आयोजकसमेत जिल्लाका विभिन्न स्थानीय तहका गरी २३ टोलीको सहभागिता रहेको थियो। 

विजेता टोलीलाई प्रदेशसभा सदस्य खगेनसिंह हङ्गामा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ शेर्पा र फुङ्लिङ नगरप्रमुख अमिर मादेनले पुरस्कार रकमसहित ट्रफी, मेडल, प्रमाणपत्र वितरण गर्नुभएको थियो।