• १७ फागुन २०८२, आइतबार

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

blog

फाइल तस्बिर

काठमाडौँ, फागुन १७ गते । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजित चुनावी सभामा दुई पार्टीबिच सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बीपी) समाहित भएको घोषणा गरिएको हो ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा साङ्गठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने उल्लेख छ ।

परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी उक्त निर्णय गरिएको वक्तव्यमा उल्लेख छ । नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने सङ्कल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको जनाइएको छ ।

नेपाली कांग्रेस (बीपी) ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम साङ्गठनिक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ ।