• १७ फागुन २०८२, आइतबार

निर्वाचन सामग्रीसहित कार्यस्थल जाँदै कर्मचारी, सोमबारसम्म सबै केन्द्रमा पुग्ने

blog

सदरमुकाम फिदिमस्थित जिल्ला निर्वाचन कार्यालयबाट सामग्री बुझेर मतदान स्थलतर्फ प्रस्थान गर्दै कर्मचारी । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन १७ गते । पाँचथरका आठमध्ये चारवटा गाउँपालिकाका विकट क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटाइएका कर्मचारी निर्वाचन सामग्री बुझेर कार्यस्थलतर्फ प्रस्थान गरेका छन् । जिल्लाको मिक्लाजुङ, तुम्बेवा, याङवरक र फालेलुङका विकट बस्तीमा खटिएका कर्मचारी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अन्य चारवटा स्थानीय तहमा रहेका मतदान केन्द्रमा भने सोमबार कर्मचारी प्रस्थान गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको याङवरक गाउँपालिका–२ तिम्बुपोखरी, मिक्लाजुङ–६ तोक्लेसँगै तुम्बेवा र फालेलुङका अधिकांश मतदान केन्द्र विकट क्षेत्रमा पर्छन् । यी केन्द्रमा सोमबार बिहानै कर्मचारी पुगिसक्ने बताइएको छ ।

यसैगरी फाल्गुनन्द, कुम्मायक, हिलिहाङ र फालेलुङका केही मतदान केन्द्रमा खटिएका कर्मचारीलाई भने सोमबार बिहानैदेखि सामग्री दिएर खटाउने कार्यक्रम तय भएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो ।

जिल्लामा १०२ मतदान स्थल र १७९ मतदान केन्द्र छन् । जिल्लाभर एक लाख ४३ हजार ४०८ मतदाता छन् भने १५ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।