• १३ असोज २०८१, आइतबार

रामपुर खुल्याे फनपार्क

blog

इमान सिं राना

रामपुर (पाल्पा), असोज २ गते । पाल्पामा दुई करोड रुपियाँको लगानीमा फन पार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रा.लि.ले रामपुर नगरपालिका–५, मटेरीमा रामपुर फनपार्क सञ्चालनमा ल्याएको हो । 

बाल मनोविज्ञानलाई मध्यनजर गर्दै पछिल्लो समय सरकारी स्तरबाट बालउद्यान निर्माणको अवधारणा आईरहेको सन्दर्भमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र बालबालिकाको मनोरञ्जनका लागि फन पार्क सञ्चालनमा ल्याएको आइकोनिक ग्रुप प्रा.लि.का अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । उहाँले ८ रोपनी जग्गा १५ वर्षको लागि लिजमा लिएर फन पार्क सञ्चालन गरिएको जानकारी दिनुभयो ।

१० जना भन्दा बढी युवाहरुको संयुक्त लगानीमा फनपार्क निर्माण भएको आइकोनिक ग्रुपका सञ्चालक खिम बहादुर के.सी.ले बताउनुभयो । उहाँका अनुसार फनपार्कमा हाल सम्म २ करोड लगानी भैसकेको छ । फनपार्कको उट्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरको पर्यटन प्रवद्र्धन र विकासमा यसले थप टेवा पुग्ने बताउनुभयो । 

पार्कमा पिङ्ग, झुला, रेल लगायतका बालउद्यान सहित दुवो सहितको खुल्ला पार्क, रेष्टुरेण्ट, पसल तथा फोटो खिच्ने स्थान निर्माण गरिएको छ । आइकोनिक ग्रुपले फन पार्क सँगै आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा होटल व्यवसायमा लगानी गर्ने लक्ष्य लिएको छ ।