विकास अधिकारी
पश्चिम नवलपरासी, पुस १० गते । पश्चिम नवलपरासीमा यस वर्ष धान उत्पादन सामान्य मात्र वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र परासीले दिएको जानकारी अनुसार यस वर्ष जिल्लामा ०.४ प्रतिशतले मात्र धान उत्पादन वृद्धि भएको छ । गत वर्ष ९५ हजार ५९ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ९५ हजार ४३६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिनु भयो ।
यो वर्ष र गत वर्षको उत्पादनमा खासै अन्तर छैन, पौडेलले भन्नु भयो, “जिल्लामा चैते धान खेती भर्खर मात्र विस्तार हुन थालेको छ । सात हेक्टर क्षेत्रफलमा मात्र चैते धान खेती हुँदै आएको छ । वर्षे धान भने जिल्लामा २० हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा हुँदै आएको छ । वर्षे धानको क्षेत्रफल पछिल्लो वर्षमा तलमाथि भएको छैन ।”
नवलपरासीका कृषक धान, तोरी, तरकारी लगायतका विभिन्न बालीमा आत्मनिर्भर बन्दै गएका छन् । पछिल्लो समय तीन तहको सरकारले सिँचाइ सुविधा विस्तार, मलखाद तथा बिउबिजनको व्यवस्थापनमा तुलनात्मक रूपमा सुधार गरेकाले उत्पादनमा सकारात्मक प्रभाव पर्दै आएको छ । अझै बाली लगाउने समयमा विशेषगरी रासायनिक मलको अभाव हुँदा किसानले सास्ती खेप्दै आएका छन् । खडेरी परेको समयमा पर्याप्त सिँचाइको व्यवस्था नहुँदा पनि उत्पादनमा असर पर्ने गरेको छ ।