• १२ असोज २०८१, शनिबार

साफ यू–१९ फुटबलको तयारी पूरा, नेपालको लक्ष्य उपाधि

blog

साफ यू–१९ फुटबल च्याम्पियनसिपबारे जानकारी दिँदै एन्फाका पदाधिकारी । तस्बिर : विकास द्वारे

काठमाडौँ, असोज २ गते । पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सम्पूर्ण तयारी पूरा गरेको छ । 

नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको एन्फाका प्रतियोगिता संयोजक सञ्जीव मिश्रले बताउनुभयो । ‘‘उमेर समूहमा हरेक पटक नेपालको प्रदर्शन राम्रो रहँदै आएको छ । घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा हामी उपाधि दाबेदार हौँ । साफका हरेक खाले प्रतियोगितामा नेपालको उपाधि दाबेदारी रहन्छ । नेपालको लक्ष्य भनेको च्याम्पियन हुने नै हो । हामीले यसअघिका दुई संस्करणको उपाधि जितिसकेका छौँ,’’ मिश्रले भन्नुभयो । 

व्यवस्थापकीय हिसाबले साफ आयोजनालाई उत्कृष्ट रूपमा सफल बनाउने एन्फाको लक्ष्य रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो । यस च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, भारत, भुटान र बङ्गलादेशको सहभागिता रहने छ ।

च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान छन् । प्रतियोगितामा भाग लिन भुटान, भारत, माल्दिभ्स र बङ्गलादेश मंगलबार काठमाडौँ आउने एन्फाले जनाएको छ । पाकिस्तान टोली बुधबार आउनेछ । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो । 

एन्फाले च्याम्पियनसिपका लागि  दशरथ रङ्गशालामा टिकट दर साधारण प्यारापिटतर्फ एक सय र भिआइपी प्यारापिटतर्फ तीन सय रुपियाँ राखेको छ । सहभागी टोलीले च्यासल र भद्रकालीस्थित आर्मीको खेल मैदानमा अभ्यास गर्नेछन् ।

च्याम्पियनसिप सम्पन्न गर्न दुई करोड ७७ लाख ३२ हजार ८ सय रुपियाँ खर्च हुने र यसको आर्थिक व्यवस्थापन दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले गर्ने बताइएको छ ।