• १२ साउन २०८१, शनिबार

प्रतिबद्धता पुरा गर्न विकसित देशलाई आग्रह

संयुक्त राष्ट्र संघमा अल्पविकसित देशका पक्षमा प्रधानमन्त्री प्रचण्डको आह्वान

blog

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः प्रदीपराज वन्त

न्यूयोर्क, असोज १ गते। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभएको छ। 

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिनुभएको छ।

प्रधानमन्त्री प्रचण्डले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र भू–राजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटले अतिकम विकसित देशको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्दार योजना जरुरी रहेको बताउनु भएको छ।

प्रधानमन्त्री प्रचण्डले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको  औल्याउनु भएको छ।

उहाँले अतिकम विकसित देशले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँनुहुँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताउनुभएको छ। 

यसका लागि दोहा कार्ययोजना, जसप्रति  अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता रहेको थियो। उहाँले यसलाई स्वीकार गर्न आग्रह गर्नुभएको छ। उहाँले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने बताउनुभएको छ। 

एसडीजी प्रोत्साहन प्याकेज मार्फत् अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, अतिकम विकसित राष्ट्रहरूको ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नुभयो।