बेनी समाचारदता
बेनी, वैशाख ९ गते । बेनी नगरपालिकामा पहिलो पटक करदाता सेवा सुरु भएको छ । नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबिच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर गरी सेवा प्रवाहको औपचारिक सुरुवात गरिएको हो ।
सङ्घीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरे अनुसार म्याग्दीमा पहिलो पटक बेनी नगरपालिकाबाट सो सेवा सुरु भएको छ ।
सेवा सुरु भएसँगै बेनी नगरपालिकाबाट व्यक्तिगत तथा संस्थागत स्थायी लेखा नम्बर (प्यान) दर्तालगायतका करदाता सेवा उपलब्ध हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । सेवाग्राहीलाई सहजता मिल्ने र कर प्रशासनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा उहाँले अपेक्षा गर्नुभयो ।
सेवाले प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने र यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप मजबुत बनाउन सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत सिलवालले बताउनुभयो ।