• १८ वैशाख २०८१, मङ्गलबार

अट्वारीको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै

blog

विवाहित छोरीबेटीलाई अग्रासन दिन जाँदै । तस्बिर: लखन चौधरी

धनगढी, असोज १ गते । कैलालीसहित विभिन्न जिल्लाका थारु समुदायले धुमधामसँग मनाउने अट्वारी पर्वको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै छ । 

माइती पक्षको कोसेलीस्वरुप विवाहित छोरीबेटीलाई अट्वारी पर्वमा खाने विभिन्न परिकारको अग्रासन दिन लागिएको हो । अग्रासनमा अन्डीको रोटी, खुर्मा, खरिया, फुलौरी, फलफूल, गेडागुडी तथा सागको तरकारी, माछा मासु, भात लगायतको परिकार रहने गर्दछ । 

अट्वारी पर्वको यी परिकारहरु माइतीबाट पाएपछि विवाहित छोरीबेटी खुशी हुने गरेको कैलारी गाउँपालिका–७ मोहनपुरका बलराम चौधरीले बताउनुभयो । उहाँका अनुुसार आजकोे दिन चेलीबेटीहरु माइतीपक्षको अग्रासन कुरेर बसेका हुन्छन् । अग्रासन नपाएमा उनीहरु दुःखी हुने गर्दछन् । अग्रासन दिन गएकालाई उनीहरुले निकै आदर सम्मानका साथ मिठा मिठा परिकार खुवाएर पठाउने गरेको जनाइएको छ । 

अट्वारी पर्वको पहिलो दिन व्रतालुहरुल अन्डीको रोटी, फलफूल, खुर्मा, दुध खाने चलन रहेको छ । यी परिकारहरु खानुभन्दा अगाडि उनीहरुले एक भाग निकालेर आफ्ना विवाहित दिदी बहिनीका लागि छुट्टै राख्ने गर्दछन् । 

यसैगरी, पर्वको दोस्रो दिन उनीहरुले खरिया, फूलौरी, गेडागुडी सागको तरकारी, माछा, मासु जस्ता परिकार खाने चलन छ । यसलाई थारु भाषामा ‘फरहार’ गर्ने भनिन्छ । दोस्रो दिन पनि व्रतालुहरुले सबै परिकार एक भाग छुट्टै निकालेर मात्रै खाने गर्दछन् । यसरी, निकालेर राखेको रोटीसहित खानाका सबै परिकार आफ्ना विवाहित छोरीचेलीलाई दिने गरिन्छ । 

Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।