• १२ साउन २०८१, शनिबार

सिँचाइ भएपछि किसान खुसी

blog

महेन्द्रनगर समाचारदाता 

महेन्द्रनगर (धनुषा), असोज १ गते । कमला सिँचाइ व्यवस्थापन कार्यालयले पश्चिमी नहर प्रणालीको खजुरी शाखासम्म पानी पुर्‍याएको छ। यो नहर प्रणालीको खजुरी शाखा धनुषाको उत्तरपूर्वी गणेशमान चारनाथ नगरपालिकामा रहेको प्रणालीको हेडवक्र्सबाट सीमावर्ती भारतीय क्षेत्रभन्दा वर कमला नगरपालिकाको खजुरीसम्म ३० किलोमिटर दुरीमा छ। 

पूर्वपश्चिम राजमार्गलाई छिचोल्दै १४ किलोमिटर दक्षिणमा रहेको पश्चिमी नहर प्रणालीको मूल नहर सिमरारी गेटबाट खजुरी शाखा नहर थप १५ किलोमिटरसम्म छ। केही वर्षयता सिमरारीगेट र सीमान्त खजुरीको बिचमा रहेको काजीपैनीको साइफन (नदीमुनिबाट पानी लिएर जाने संरचना) बाट पूर्ण क्षमतामा पानी बहाव नहुँदा कमला नदीको खजुरी शाखाको पुछारसम्म पानी प्रवाहित हुन पाएको थिएन। 

कमला नदी प्रणालीको पश्चिमी नहर प्रणालीबाट निस्केका चार वटा शाखा नहर छन्। यसको माथिल्लो  भेगमा रघुनाथपुर र परवाहा शाखा नहर छन् भने तल्लो भेगमा महिनाथपुर र खजुरी छन्। ती जम्मै शाखा नहर हुलाकी राजमार्ग पार गर्दै भारतीय सीमासम्म नै सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छन्। “एउटा शाखा नहरले हाराहारी पाँच हजार बिघा जग्गामा सिँचाइ गर्छ,” कमला व्यवस्थापन आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले भन्नुभयो, “शाखा नहरमा पूर्ण क्षमतामा पानी पठाउन साइफन सफा तथा नहरका विभिन्न ठाउँमा उम्रेका झारपात उखेलेर कृषकलाई खडेरी परेका बेला पनि पानी दिन सफल भएका छौँ।”

कमला नदीको पश्चिमी नहर प्रणालीबाट साढे १२ हजार हेक्टर जग्गा सिञ्चित हुने गरेको छ। कमला नहर प्रणालीबाट सिँचाइका लागि पानी प्राप्त गरेपछि धनुषाको दक्षिणी भेगका किसानहरू खुसी भएका   छन्। धनुषाको बालाबाखरका किसान भोला यादवले धान, काउली, खुर्सानी, भ्यान्टा आदि खेतीका लागि कमला नहरको पानी वरदान साबित भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नदीको पानीका कारण अन्य ठाउँको तुलनामा बालीनाली सप्रेका छन्।” 

बिउ तयार पार्न जेठ महिनामा पानी दिइएको दाबी गर्दै प्रमुख यादवले नदीमा कम पानी हुँदा पनि कमला पश्चिमी प्रणालीका चार वटै शाखामा आलोपालो गरी असार र साउन महिनामा समेत पानी दिइएको जानकारी दिनुभयो। यद्यपि यस पटक बर्खा नहुँदा साउन ५ गतेसम्म कमला नदीमा जलस्तर सामान्यभन्दा निकै तल थियो। कमला सिँचाइ व्यवस्थापन प्रणाली पानीको भण्डारण गर्ने संरचना नभएर डाइभर्सन हो। पानी अभावमा असार १५ गतेबाट रोपाइँ सुरु गर्न नसकेका किसानले असारको महिनामा बिउ उमार्न र साउनमा बिउ रोप्न नहरको पानी प्रयोग गरेका थिए।

साइफनबाट पूर्ण क्षमतामा पानी नबग्दा केही समयअघि परवाहा शाखा प्रणालीसमेतमा पुछारसम्म पानी पुग्न सकेको थिएन। मूल नहरको अन्त्य हुने सिमरारीबाट शाखा नहरहरू परवाहा २२, रघुनाथपुर १२ र महिनाथपुर १२ किलोमिटर दुरीसम्म छन्। महिनाथपुर शाखा नहरबाट सिँचाइका अतिरिक्त सडक सुविधा, गाईवस्तुलाई पानी खुवाउने र नुहाउने, भाँडाकुँडा पखाल्ने, लुगा धुने र नुहाउने, हाँसपालन र नहरबाट माछा पार्ने सेवासमेत उपलब्ध गराइएको छ।   

धनुषा र सिराहाको सीमा नदी कमलामा सिँचाइ आयोजनाको शिलान्यास विसं २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले गर्नुभएको थियो। त्यसपछि निर्माण कार्य सुरु भएर काम हुँदै र रोकिँदै अधुरो अवस्थामा नै गत २०४० सालदेखि पूर्वसिराहा र पश्चिम धनुषामा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। सिराहामा पनि साढे १२ हजार हेक्टरमा यस आयोजनाबाट सिँचाइ सुविधा उपलब्ध हुन्छ।