शंकर केसी
सल्यान, चैत २ गते । जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन महिनामा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका १६ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ती हतियार सम्भावित आपराधिक गतिविधि, जंगली जनावरको शिकार रोकथामका लागि नियन्त्रणमा लिइएको हो । पछिल्लो एक महिनाको अवधिमा प्रहरीले गरेको सुरक्षा निगरानी एवं विभिन्न आपराधिक गतिविधि नियन्त्रणका प्रयासबारे सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पूर्णबहादुर केसीले फागुन महिनामा सम्पादन गरिएका कार्यहरूको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार फागुन महिनामा १५ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ वटा मुद्दा फर्छ्यौट गरिएको छ । साथै फैसला कार्यान्वयनको क्रममा विभिन्न मुद्दामा फरार रहेका १६ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम कार्यान्वयनका लागि प्रहरीले जिल्लाभर अनुगमन गरेको छ । सो क्रममा २४१ वटा सवारी साधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट दुई लाख १२ हजार ५०० रुपियाँ राजस्व संकलन भएको सुचना अधिकारी केसीले बताउनुभयो ।
प्राकृतिक स्रोतको अवैध दोहन रोक्न गरिएको निगरानीका क्रममा बालुवा लोड गरिएको एक थान ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले अपराध नियन्त्रणसँगै सामुदायिक सचेतना कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताएको छ । फागुन महिनामा जिल्लाभर आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध विरुद्ध ४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रममा करिब दुई हजार १४१ नागरिकको सहभागिता रहेको प्रहरीले जनाएको छ ।
बागचौर र शारदा नगरपालिकाका दुई स्थानमा गरिएको नागरिक सुनुवाइका क्रममा स्थानीयबासीले पछिल्लो समय आत्महत्या र साइबर अपराधका घटना बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न प्रभावकारी पहल गर्न प्रहरीसमक्ष माग गरेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्लामा शान्ति सुरक्षालाई थप सुदृढ बनाउन नियमित गस्ती, सूचना संकलन र सामुदायिक सहकार्यलाई अझ तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।