• १ जेठ २०८२, बुधबार

बिक्न छाडे मादल

blog

लीलाधर वली

घोराही, असोज १ गते । दाङ घोराही उपमहानगरपालिका–१४, स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादीले तिजका लागि नयाँ मादल बनाउनुभएको छ। तिजसँगै दसैँ, तिहारलगायतका पर्व नजिकिँदै गर्दा घरखर्चका लागि आयस्रोत जुटाउन उहाँले मादल बनाउनुभएको हो । 

बनाएका मादल बिक्री भने हुन सकेका छैनन्। केही वर्षअघिसम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै जुठे भन्नुहुन्छ, “पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ ।” साढे चार दशकदेखि मादल बनाएर बेच्दै आएका उहाँको मादल बिक्न कम भएको छ । उहाँले पेसा नै हराउँछ कि भन्ने चिन्ता लाग्ने गरेको बताउनुहुन्छ । 

एक दशकअघिसम्म तिज, दसैँ र तिहारलगायतका चाडपर्वमा ग्राहकलाई मादल पु¥याउन धौ धौ पर्ने गरेको उहाँ सम्झनुहुन्छ। चाडपर्वको समयमा मादल बिक्री गरेर लाख रुपियाँसम्म आम्दानी गर्ने गरे पनि अहिले वर्षभरि बिक्री गर्दा त्यसको आधा पनि नपुग्ने गरेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय प्रविधिको विकाससँगै हातहातमा मोबाइल आएको र मादल पनि सस्तोमा भारतबाट आउन थालेको उहाँले बताउनुभयो । यसले गर्दा र बाँसुरी बनाउने पुख्र्यौली पेसा नै सङ्कटमा पर्न थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले त सबैका हात हातमा मोबाइल छन् । त्यसैबाट गीत बजाउन सकिने भएपछि तिजमा मादलभन्दा साउन्ड बक्स राखेर नाच्न थालेका छन् । जसले गर्दा मौलक बाजा बजाएर रमाइलो गर्ने परम्परासँगै हाम्रो पेसासमेत सङ्कटमा परेको छ ।” 

गाउँघरमा जम्मा भएर नाचगान गर्नेभन्दा पनि पछिल्लो समय होटलमा साउन्ड बक्सबाटै गीत बजाएर नाच्ने संस्कारको विकासले मौलिक कला संस्कृतिसँगै मादल, बाँसुरी बनाउने पेसा सङ्कटमा परेको उहाँ बताउनुहुन्छ । 

स्वर्गद्वारी टोलकै ५० वर्षीय रामप्रसाद बादीले कुनै समय मादल बनाएर बिक्री गरी पाँच जनाको परिवार पाल्नुहुन्थ्यो तर पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्न थालेको उहाँ बताउनुहुन्छ । प्रविधिको विकाससँगै जातीय र सांस्कृतिक पेसाका रूपमा रहेको मादल बनाउने पेसा नै लोप हुने क्रम बढेपछि परिवार पाल्नकै लागि विगत पाँच वर्षदेखि मादल बनाउनेसँगै फुर्सदको समयमा घर बनाउने काम गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले मादल बनाउँदै बिक्री गरेर परिवार पाल्न सकिन्थ्यो । अरू काम गर्नु पर्दैनथ्यो, वर्षभरि नै मादल बनाउने हुन्थ्यो तर अहिले मादलको बिक्री घटेको छ । चाडपर्वको समयमा मात्रै बनाउने गरेको छु ।”   

चाडपर्वसँगै सांस्कृतिक कार्यक्रममा मौलिक बाजाभन्दा बढी प्रविधिमा आधारित साउन्ड सिस्टम (डेक), हात हातमा मोबाइलसँगै सस्तोमा भारतबाट मादल भित्रिन थालेपछि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइने मादल बिक्री हुन छोडेको उहाँ बताउनुहुन्छ । जसले गर्दा परिवार पाल्नै समस्या पर्ने गरेको छ । 

मादल बनाउन आवश्यक पर्ने कच्चा पदार्थ खमारीको काठ, खरीलगायतका सामग्री पाउन पनि समस्या हुने गरेको उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो, “जङ्गलमा गएर काठ ल्याउन पाइँदैन, काष्ठ उद्योगमा सम्पर्क गरेर ल्याउने हो । तैपनि कुनै राम्रो हुँदैन ।”