• १९ वैशाख २०८१, बुधबार

सभामुख घिमिरेद्वारा तीजको शुभकामना

blog

काठमाडौँ, असोज १  गते । सभामुख देवराज घिमिरले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहीआएको पर्व तीज भएको उल्लेख गर्दै उहाँले सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन सन्देशमा उल्लेख गर्नुभएको छ ।

 सभामुख घिमिरेले शुभकामना सन्देशमा भन्नुभएको छ, “तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्त्वपूर्ण रहेको छ । लैंगिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो । तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रुपमा समेत विकास हुँदै गएको छ ।”

मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समयक्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी उल्लेख गदै उहाँले मौलिक संस्कृति अनुरूप हरितालिका पर्व मनाउने संकल्प गरेमात्र तीजको महत्त्व झन् बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीति अन्त्य गरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।