• १४ मंसिर २०८१, शुक्रबार

गरिँदै पानीको गुणस्तर मापन

blog

कावासोती समाचारदाता 

कावासोती, भदौ ३१ गते । नवलपुरको कावासोतीमा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ । खानेपानी पाइपमा ‘सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गर्न मिल्ने बनाउन लागिएको हो  ।

 चुहावट नियन्त्रण गरी खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन आधुनिक प्रविधि ‘स्काडा’ जडान गरिएको छ । यसले कुन क्षेत्रमा कति पानी प्रवाह भएको छ र चुहावट कहाँ कति भएको छ भन्ने अनुगमन गर्न सकिन्छ । कावासोती खानेपानीका अध्यक्ष दीपक लम्सालले मुहानबाट वितरण हुने पानी र ग्राहककोमा खपत भएको पानीलाई अनुगमन गर्न सहयोग पुग्ने बताउनुभयो । (स्काडा) जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै नियन्त्रण गर्न सकिने छ । वितरित पानीको विवरण विश्लेषण ‘मास्टर कन्ट्रोल रुम’ बाट हुनेछ ।  एडिबीको सहयोगमा ‘स्काडा’ प्रणाली चार करोड रुपियाँको लगानीमा जडान गर्न लागिएको हो । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्ने खानेपानीमा ३० प्रतिशत चुहावट हुने गरेको छ । कावासोती खानेपानी संस्थाका व्यवस्थापक बाबुराम ज्ञावलीले विशेष गरी जाडोयाममा पानीको पाइप फुट्ने हँुदा पानी चुहावट भए पनि अहिले नारायणघाट बुटवल सडक विस्तारका व्रmममा रहेकाले धेरै चुहावट हुने गरेको बताउनुभयो ।   संस्थाले कावासोतीमा रहेका नौ हजार ४२ घर धुरीमा खानेपानी वितरण गर्दै आएको छ । संस्थाबाट अहिले प्रतिसेकेन्ड १८३ लिटर पानी उत्पादन हुँदै आएको अध्यक्ष लम्सालले बताउनुभयो । खानेपानीलाई नियमित रूपमा आवश्यकता अनुसार वितरणका लागि विभिन्न स्थानमा दुई वटा ओभरहेड ट्याङ्की, चार वटा रिजर्भ ट्याङ्कीसमेत निर्माण गरिएको उहाँले बताउनुभयो । 

जिल्लाको सदरमुकाम कावासोतीमा खानेपानी आपूर्तिमा कुनै समस्या नहोस् र आवश्यकता अनुसार वितरण गर्न सकियोस् भनेर संस्थाबाट न्यूनतम महसुलमा २० रुपियाँ घटाएको छ । निजी धाराका लागि प्रतिमहिना १० हजार लिटर पानी प्रयोग गर्दा लाग्ने १२० रुपियाँ शुल्कमा २० रुपियाँ घटाइएको छ । कावासोती खानेपानी संस्थाका सचिव ज्ञानेन्द्र न्यौपानले सामुदायिक धारामा लाग्ने न्यूनतम शुल्क २२० रुपियाँमा २० रुपियाँ घटाएर दुई सय रुपियाँ कायम गरिएको बताउनुभयो । 

खानेपानी तथा सरसफाइसम्बन्धी स्नातक तहमा इन्जिनियरिङ गर्न चाहने दुई जना विद्यार्थीलाई प्रत्येक वर्ष ५० हजार रुपियाँका दरले छात्रवृत्ति दिने निर्णय पनि गरिएको  छ । सचिव  न्यौपानेले सामुदायिक विद्यालयतर्फको पानी महसुलमा ५० प्रतिशत अनुदान दिने बताउनुभयो । कावासोती खानेपानी अन्तर्गत अहिलेसम्म आठ हजार ७०२ वटा धारा जडान गरिएको छ । यस वर्ष ३९० धारा जडान गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।