• ११ पुस २०८१, बिहिबार

पार्टी अभियानबाट आशाका झिल्का देखा परे

blog

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सरकारले गरेका असल काम जनतासम्म पुर्‍याउने उद्देश्यले भदौ १६ गतेदेखि तीन महिनासम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरिरहेको छ । माओवादी केन्द्र जनताका आलोचना, गुनासा र सुझावहरू सरकारमार्फत सम्बोधन गर्ने गरी ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ देशभरका छ हजार ७४३ वडामा केन्द्रित भएको छ । पार्टीको तीन महिने अभियानबाट विधान सम्मेलन गरेर व्यवस्थित पार्टी बनाउने लक्ष्य पनि लिइएको छ । यही विषयसहित सरकारका कामकारबाही, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकलगायतका विषयमा केन्द्रित भएर प्रतिनिधि सभाका पूर्वसभामुख, माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटासँग गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनसमाचारदाता वीरेन्द्र ओली, भिडियोमा मनोजरत्न शाहीकेशव गुरुङले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश : 

सभामुख भएर जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारीमा हुँदा कस्तो अनुभूति भइरहेको छ ? 

यसअघि ११ वर्षपहिले पनि म पार्टी प्रवक्ताको जिम्मेवारीमा थिएँ । निकै ठुला फेरबदलपछि पुनः प्रवक्ताको जिम्मेवारीमा फर्किएको छु । सूचना प्रविधिको विकासँगै धेरै परिवर्तन भएका छन् । डिजिटल प्रविधिले गुणात्मक फड्को मारेको छ । यो चुनौतीपूर्ण र सम्भावनाको अवस्थामा चुनौतीलाई स्वीकार गरेर जिम्मेवारीमा फर्किएको छु । 

परम्परागत मिडिया, डिजिटल मिडिया र सोसल मिडियालाई कति प्रभावकारी ढङ्गले परिचालन गर्न सकिन्छ ? त्यसमा मैले ध्यान केन्द्रित गरेको छु । समग्र पक्षको विश्लेषण गरेर प्रभावकारी रूपमा काम गर्ने गरी आफ्ना योजना बनाएको छु ।

 सभामुखको जिम्मेवारीमा हुँदा दुई पटक संसद् विघटन भएको अवस्थालाई कसरी समीक्षा गर्नुहुन्छ ? 

एउटै कार्यकालमा छ महिनाभित्र दुई पटक प्रतिनिधि सभा विघटन भयो । संसद् विघटन गर्नेले ग¥यो । मुख्यतया दुवै पटक हामी संसद् पुनस्र्थापना गर्न सफल भयौँ । यो हाम्रो मात्रै नभएर जनताको जित भयो । देशको जित भयो । इतिहासले विश्व कीर्तिमान कायम गर्ने अवसर प्राप्त ग¥यो भन्ने लागेको छ । दुई पटक संसद् पुनस्र्थापना गर्न हामी सफल भयौँ । जुन संविधान मिच्ने दुष्प्रयत्न भएका थिए, त्यसका लागि आफैँ सर्वोच्च अदालतमा उपस्थित भएर बहालवाला राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षविरुद्ध संविधानविरुद्ध मिचेर गरिएका नियुक्तिमाथि मुद्दा दायर गरेको थिएँ । यस्तो विश्व इतिहासमा अर्को दृष्टान्त छैन । समग्रमा भन्नुपर्दा मैले नेतृत्व गरेको संसद्को कामकारबाहीहरू अब्बल रहन सफल भए भन्ने मलाई लागेको छ । यसमा मलाई गौरव पनि महसुस भइरहन्छ । बरु त्यो बेला मैले आफ्नो क्षमतालाई प्रयोग गर्न राम्रो वातावरण पाइनँ । कोभिडका कारणले पाँचौँ र छैटौँ संसद्को अधिवेशन चल्न सकेन । संसद् विघटनका कारणले सातौँ र आठौँ अधिवेशन पनि चल्न सकेन । त्यसपछि ९ औँ र १० औँ अधिवेशन अवरुद्ध भएकाले संसद् चल्न सकेन । त्यसपछि ११ औँ बजेट अधिवेशन थियो । बजेट अधिवेशन भए पनि सो बेला ३० वटा विधेयक पास भए । यो आफैँमा महत्वपूर्ण काम हो । अन्य धेरै अन्तर व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, चिनियाँ जनकङ्ग्रेस (संसद्) लगायतका अन्य देशहरूसँगको संसद्सँग सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण काम भए । अन्तर्राष्ट्रिय सभामुखहरूको अजरबैजानमा भएको सम्मेलन उपलब्धिमूलक भयो । यी सबैमा सभामुख हुँदा प्रभावकारी ढङ्गले मैले आफ्नो भूमिका निर्वाह गर्न सकेँ भन्ने महसुस गर्छु ।

वर्तमान सरकारका कामकारबाहीलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

सामाजिक न्यायसहितको सुशासन र समृद्धिको अभियानमा सरकार हिँडिरहेको छ, यो निकै सराहनीय विषय हो । यो दिशातिर सरकारले केही महत्वपूर्ण कदम चालेको छ । सरकारले कानुन निर्माणमा मिटर ब्याजपीडितको पक्षमा महत्वपूर्ण काम गरेको छ । मिटर ब्याजपीडित अत्यन्तै शोषणमा परेका थिए । सरकार कानुन निर्माणमा मात्रै हैन, कार्यान्वयन गर्न बढो तदारुकताका साथ अघि बढेको छ । त्यसले राम्रो नतिजा पनि ल्याएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले निकै महìवपूर्ण काम गरेका छन् । खास गरेर मधेशमा मिटर ब्याजविरुद्धको अभियान धेरै सशक्त रूपमा अघि बढेको छ । दोस्रो, सुशासन भन्नेबित्तिकै सेवा प्रवाहमा महत्वपूर्ण काम भएका छन् । जस्तै : राहदानी, लाइसेन्स, अस्पतालमा लाइन बस्ने अवस्थाको अन्त्य गरिएको छ । सुन काण्ड प्रकरणको छानबिन गहिराइमा पुग्ने गरी, ललिता निवास प्रकरणका दोषीलाई कारबाही गर्ने गरी र अरू सबै खाले भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक सरकार अघि बढेको छ । यसमा सबैले सरकारलाई सहयोग गर्नु पर्छ । 

त्यसो भए गिरीबन्धु, यती, ओम्नीलगायत अनियमितताका फाइलहरू खोलिन्छन् त अब ? 

यस्ता अनियमितता र भ्रष्टाचारका फाइलहरू क्रमशः खुल्दै जाने छन् । प्रधानमन्त्रीज्यूले र गृहमन्त्रीज्यूले भ्रष्टाचारको कदम रोकिँदैन भन्नुभएको छ । मलाई लाग्छ, सबै फाइल खुल्दै जान्छन् । सरकार यसमा अघि बढ्छ । 

सरकार आफ्नालाई जोगाउने तर अरूलाई फसाउन लागेको केही सत्तापक्ष र प्रतिपक्ष नेताहरूले आरोप लगाइराखेका छन् नि ? 

यो बाह्य प्रचार मात्रै हो । आन्तरिक रूपमा त्यस्तो कुरा छैन । प्रधानमन्त्रीज्यूले भन्नुभएको छ, भ्रष्टाचारमा तथ्य र प्रमाण भेटिन्छ भने मन्त्रीलाई पनि नछोडे हुन्छ भन्नुभएको छ । यसो भनेपछि आफ्नालाई जोगाउने अरूलाई फसाउने भन्ने हुँदैन ।

तर सुन काण्डमा माओवादीकै नेताहरू मुछिँदा सामान्य सोधपुछसमेत गरिएन नि ? 

आरोप लागेको नेतालाई सिआइबीले सोधपुछ गरेको छ । तथ्य र प्रमाणबिना कसैले आरोप लगायो वा पत्रपत्रिकाले लेख्यो भन्दैमा पक्राउ गर्ने र कारबाही गर्ने भन्ने हुँदैन । तथ्य र प्रमाणका आधारमा मात्रै सरकारले कारबाही प्रक्रिया अघि बढाउँछ । 

त्यसो भए दोषी देखिएका माओवादीकै नेताहरूलाई पनि कारबाही हुन्छ त ? 

प्रधानमन्त्री स्वयम्ले आफू दोषी देखिए आफूलाई पनि कारबाही गर्नु पर्छ भनेर सार्वजनिक रूपमा भन्नुभएको छ । उहाँ स्वयम्ले यस्तो भनिरहेको अवस्थामा सरकारले आवश्यक सबै कामकारबाही गरिराखेको छ । आगामी दिनमा समेत कारबाही गरेरै सरकार अघि बढ्छ भनेर म सबैलाई विश्वास दिलाउन चाहन्छु ।

  • चीन र नेपालबिचका नाकाहरू खोल्ने, विगतमा भएका सहमति र समझदारीहरू कार्यान्वयन गर्नुपर्ने देखिएको छ । यसका साथै विकास निर्माण र जलविद्युत्लगायतका विभिन्न सवालमा महत्त्वपूर्ण सम्झौता हुनु पर्छ भन्ने लाग्छ ।
  • हामीले धेरै बोल्नेभन्दा पनि जनताका कुरा धेरै सुन्ने प्रयास गरेका छौँ । जनताका कुरा सुनेर जनताका समस्याको पहल लिने कुरालाई मुख्य एजेन्डा बनाएका छौँ ।
  • हाम्रो उद्देश्य भनेको देशमा रोजगारी सिर्जना गर्ने, युवालाई देशमै फर्काउन आकर्षित गर्नेबाहेक अरू केही उद्देश्य र लक्ष्य छैन ।
  • समाजवादको आधार तयार पार्नु भनेको रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र देशलाई आत्मनिर्भर बनाउने हो । यसबाट गरिबी हटाउनेबित्तिकै जनताको जीवनस्तर सुधार गर्न सकिन्छ । 

सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक टुङ्गिन लागेको हो ? 

सत्य निरुपणसम्बन्धी र बेपत्ता आयोगसम्बन्धी संशोधन विधेयक अघि बढाउन प्रधानमन्त्रीले भरभग्दुर प्रयास गर्नुभएको छ । निरन्तर तीन शीर्ष नेताबिच संवाद चलिरहेको छ । संसदीय समितिमा सघन छलफल भएर अन्तिम चरणमा पुगेको छ । यसै विषयमा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने क्रममा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङबिच संवाद भइराखेको थियो । उहाँको निधनले यो काम अघि बढाउन समस्या पर्ने हो कि भन्ने देखिए पनि विधेयकलाई अघि बढाउन प्रधानमन्त्रीले प्रयास जारी राख्नुभएको छ । मलाई आशा छ कि यो अधिवेशनबाट विधेयक पास हुन्छ । 

शीर्ष नेतृत्वहरूबिच विधेयक पास गर्ने समझदारी निर्माणमा समस्या देखिएको हो ? 

शीर्ष नेतृत्वबिच समझदारी बन्न गाह्रो भइराखेको छ तर निरन्तर छलफल, बहस र संवादका माध्यमबाट निष्कर्षमा पुग्न सकिन्छ र पुग्नु पर्छ भन्ने लाग्छ । समझदारी बनाएर जान नसकिने गरी गाह्रो भएको होइन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा सहयोग गर्दिनँ भन्ने विषय सत्य हो ? 

प्रधानमन्त्री र विपक्षी दलका नेता केपी शर्मा ओलीबिच कुराकानी हुँदा असहयोग हुने खालको कुरा गर्नुभएको छैन तर छलफल गर्दा एउटा निष्कर्षमा पुग्नै पर्छ । किनभने यो कुनै पार्टीविशेष वा सरकारविशेषको कुरा मात्रै हैन । कुनै नेताविशेष वा कुनै व्यक्तिविशेषको कुरा पनि हैन । यो समग्र राष्ट्रिय सवाल हो । राष्ट्रिय सवालमा छलफल गर्दै जाँदा एउटा समझदारीमा पुग्नै पर्छ । मलाई लाग्छ, शीर्ष नेताहरू एउटा समझदारीमा पुग्नुहुन्छ । 

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण कति फलदायी हुने अपेक्षा छ ? 

विश्वको सबैभन्दा ठुलो सभा संयुक्त राष्ट्रसङ्घको महासभामा उपस्थित हुने र त्यहाँ प्रस्तुत हुने कुरा नै धेरै ठुलो महìवको विषय हो । यसभन्दा अघि परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुहुन्थ्यो । यस पटक प्रधानमन्त्रीले सम्बोधन गर्दा राष्ट्रको प्रतिनिधित्व राम्रोसँग हुने ठानेको छु । यसका साथै अरू साइड लाइनका वार्ताहरू हुन्छन् । यी पनि महत्वपूर्ण हुने देखिएका छन् । यस्तै चीन भ्रमणको तीव्र रूपमा तयारी भइरहेको छ । प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र शीर्ष नेतृत्वहरूसहित विषय विज्ञसँग छलफल गरी सक्नुभएको छ । यस्तै परराष्ट्रमन्त्रीले निरन्तर विषय विज्ञसँग छलफल गर्नुभएको छ । चीन भ्रमणका सवालमा गहन रूपमा छलफल भएका छन् । प्रधानमन्त्रीको चीन सानदार ढङ्गले सफल हुने देखिएको छ । नेपाल र चीन दुई देशबिचका सम्बन्ध गुणात्मक रूपमा राम्रो हुने अवसर प्राप्त भएको छ । यसले नयाँ आयाम खडा गर्ने विश्वास लिइएको छ ।

यहाँ पनि चीन भ्रमण गरेर हालै फर्किनुभएकाले सरकारले कुन कुन मुद्दालाई प्राथमिकतामा राख्नु पर्छ भन्ने लाग्छ ? 

चीन भ्रमणको सवालमा विभिन्न विषय बाहिर आइरहेका छन् । जस्तो : चीन र नेपालबिचका नाकाहरू खोल्ने, विगतमा भएका सहमति र समझदारीहरू कार्यान्वयन गर्नुपर्ने देखिएको छ । यसका साथै विकास निर्माण र जलविद्युत्लगायतका विभिन्न सवालमा महìवपूर्ण सम्झौता हुनु पर्छ भन्ने लाग्छ ।

फरक प्रसङ्ग, माओवादी केन्द्रले भदौ १६ गतेदेखि चलाएको अभियान यहाँसम्म पुग्दा के अनुभव भएका छन् ? 

पार्टीको तीन महिने अभियान व्यवस्थित रूपमा राम्रोसँग चलेको छ । भदौ २९ गते मैले सबै प्रदेशका प्रदेश इन्चार्जसँग कुराकानी गरेको थिएँ । आ–आफ्ना परिस्थिति र वस्तुगत परिवेशलाई राम्रोसँग अध्ययन गरेर विविधतापूर्ण ढङ्गले कार्यव्रmम भएका छन् । पहिलो चरणको आन्तरिक तयारी जस्तै बैठक, भेला, प्रशिक्षणहरू वडातहसम्म पूरा भएका छन् । भदौ १६ गतेको उद्घाटन विविधतापूर्ण र रचनात्मक तरिकाले भएका छन् । त्यो बेला असाध्यै सृजनात्मक, रचनात्मक र व्यवस्थित रूपमा सञ्चालन भएका छन् । कतै टोलहरूमा सरसफाइ अभियान चलाएर, कतै अस्पताललगायतका सामाजिक सङ्घ संस्थाको सरसफाइ र रङ्गरोगन गरेर भएका छन् । कतै उत्पादनसँग जोडिएर, कतै कृषि र पशुपालनका फर्म उद्घाटन गरी अभियान सुरु भएका छन् । कतिपय वडाहरूमा मार्चपास, खेलकुद, साहित्य र सांस्कृतिक कार्यक्रम गरेर भएका छन् । अहिले प्रथम चरणको कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हाम्रो पार्टीले राखेको अभियानको लक्ष्य र उद्देश्य ७५ प्रतिशत पूरा भएका छन् । 

भनेपछि कस्ता प्रतिक्रिया, गुनासा र सुझावहरू आएका छन् ? 

जनतामा हामीप्रति अपेक्षा बढी नै छन् । अपेक्षा बढी भएकाले ती सबै अपेक्षा पूरा हुन नसक्दा जनताका गुनासा छन् । जनता र हामीबिचको सम्पर्क र सम्बन्ध पातलो भयो । जनतासँगको भेटघाट, सम्बन्ध बाक्लो र जीवन्त बनाउनुप¥यो भन्ने सुझाव छन् । दोस्रो कुरा हामी सहर बजारमा रमाउन थाल्यौँ । हिजो सुख र दुःखमा हामी जनताको साथमा हुन्थ्यौँ तर अचेल आएर सुखदुःखमा पनि पार्टीका नेता तथा कार्यकर्ता टाढा हुँदा हामीलाई दुःख लागेको भनेर आलोचना भएका छन् । हामी कुनै औपचारिकता मात्रै निर्वाह गरी राखेका छैनौँ । हामी साँच्चिकै जनताको स्थिति बुझ्ने, सुन्ने र भावना बुझ्ने प्रयास गरिरहेका छौँ । हामीले धेरै बोल्नेभन्दा पनि जनताका कुरा धेरै सुन्ने प्रयास गरेका छौँ । जनताका कुरा सुनेर जनताका समस्याको पहल लिने कुरा मुख्य एजेन्डा बनाएका छौँ । संश्लेषण गरेरभन्दा जनताको उत्साह, सृजनशीलता र जनताको पहलकदमीलाई अधिकतम रूपमा बढाउनु पर्छ भन्ने गहिरो बोधका साथ काम गरेका छौँ ।

अध्यक्षसहितका नेताहरू छ हजार ७४३ वडामा खटे पनि केहीले बिट मारेकाले विगतका दुईमहिने अभियान जस्तै हुने त होइन ? 

यसअघिको दुई महिने अभियानभन्दा यो अभियान नितान्त फरक छ । एकाध ठाउँमा तपाईले भन्नुभए जस्तो भएको हुन सक्छ तर आमरूपमा पदाधिकारी, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरू फिल्डमै हुनुहुन्छ । अधिकांश नेता फिल्डमै भएको देखिन्छ । बिरामी वा अन्य केही कारणले गर्दा केही वडामा नपुगेका हुन सक्छन् तर सिङ्गो पार्टी अभियानमै केन्द्रित छ ।

अझै चार सय वडामा के कस्ता कारणले अभियान चलाउन नसकिएको हो ? 

हाम्रो पार्टीले देशभरका सबै वडामा सङ्गठन निर्माण गरेको छ । अभियानको तयारी राम्रोसँग नभएकाले सुरु नभएको पनि हुन सक्छ । त्यसबारेमा मैले सोधेको थिएँ । अति दुर्गम ठाउँमा मनसुनी झरी वा अन्य विविध कारणले अभियान चलाउन सकिएको छैन भन्ने रिपोर्ट आएका छन् । अभियानको प्रथम चरणमा केही वडा छुटेका छन् । दोस्रो चरणमा सबै वडामा पुगेर शतप्रतिशत कार्यक्रम सञ्चालन हुन्छन् भन्ने रिपोर्ट पाएको छु ।

भनेपछि बलियो र व्यवस्थित पार्टी बनाउन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ? 

पार्टीको तीन महिने अभियानका क्रममा आशाका झिल्काहरू देखा परेका छन् । सातै प्रदेशसहित गैरभौगोलिक गरी दस प्रदेशमा आशाका झिल्काहरू देखिएका छन् । यो पूरै सफलतातिर गयो भन्ने दाबा त होइन तर पनि बिहानीले दिनको झल्को दिन्छ भने जस्तै यसले सफल हुन्छ भन्ने झल्को दिएको छ । 

बिदेसिने लहर चलिरहेको अवस्थामा युवावर्गलाई के सन्देश दिनुभएको छ ? 

नेपाली विदेश जाने लहर जस्तै चलेको छ । विदेश जाने नेपालीको सङ्ख्या गुणात्मक रूपमा बढेको छ । आश्चर्यजनक रूपले नेपाली विदेश पुगेका छन् । गाउँमा युवा असाध्यै कम देखिन थालेका छन् । विदेश जानबाट रोक्न फेरि पनि समाजवादको आधार तयार गर्नै पर्छ । समाजवादको आधार तयार पार्नु भनेको रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र देशलाई आत्मनिर्भर बनाउने हो । यसबाट गरिबी हटाउनेबित्तिकै जनताको जीवनस्तर सुधार गर्न सकिन्छ । दोस्रो, अब समाजवादी कार्यक्रम के हुन्छन्भन्दा कृषि, उद्योगधन्दा, विज्ञान तथा प्रविधिको विकाससँगै राष्ट्रिय सुरक्षा व्यवस्था गरेर अगाडि जान सकेमा अबको समाजवादी क्रान्ति त्यसकै आधारमा अघि बढाउन सकिन्छ । मुख्य कुरा देशमै रोजगारी सिर्जना गर्ने हो । देशमा रोजगारी सिर्जना गरेर मात्रै युवालाई देशमै राख्न सकिन्छ । नभए कुनै पनि कुराले युवालाई विदेश जानबाट रोक्न सकिँदैन । 

स्वदेश फर्किएकालाई उत्पादनमा जोड्ने ‘रिटर्नी’ सेन्टर, नेपालको सान्दर्भिकता कति देखिएको छ ? 

देशमा बेरोजगारी समस्या विकराल रूपमा देखिएका छन् । विदेश जाने गति तीव्र रूपमा बढिरहेको छ । यसलाई कसरी रोक्न सकिन्छ भनेर विविध उपायको खोजी गर्ने क्रममा रिटर्नी सेन्टर, नेपाल गठन भएको हो । ‘बे्रन ड्रेन’ अर्थात् विदेश जानबाट रोकेर स्वदेशमै उत्पादनमा कसरी जोड्न सकिन्छ भनेर गरेको यो एक प्रयास हो । यसले देशमा रोजगारी सिर्जना गर्ने, विदेशमा रहेका युवालाई स्वदेशमा फर्काउन यो सङ्गठनले महत्वपूर्ण योगदान गर्न सक्छ । यो मात्रै हैन, यस्ता धेरै सृजनात्मक, रचनात्मक र जनतालाई विश्वास गर्ने खालका कार्यक्रम ल्याउनु पर्छ भन्ने लागेको छ । 

तर एनआरएनलाई आकर्षित गर्न रिटर्नी सेन्टर गठन भएको आरोप छ नि ? 

यसमा अरू कुनै उद्देश्य छैन । हाम्रो उद्देश्य भनेको देशमा रोजगारी सिर्जना गर्ने, युवालाई देशमै फर्काउन आकर्षित गर्नेबाहेक अरू केही उद्देश्य र लक्ष्य छैन । विदेश जाने तीव्र लहरलाई रोक्न खोजिएको रचनात्मक र सिर्जनात्मक उपाय मात्रै हो । युवालाई देशभित्रै राख्ने र विदेशमा भएकालाई फर्काउने उद्देश्य हो ।