बाबुराम कार्की
वराहक्षेत्र, भदौ ३१ गते । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाका १२ वटा पालिकामा रहेका स्वास्थ्य सेवा दिने निजी क्लिनिक र फार्मेसीहरूको विवरण माग गरे पनि पालिकाहरूले उपलब्ध नगराउँदा अनुमतिबिनै सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र फार्मेसीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।
दर्ताबिना अनियमित रूपमा सञ्चालनमा रहेको निजी स्वास्थ्य क्लिनिक, फार्मेसी र अस्पतालहरूको विवरण पालिकाले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएमा त्यस्ता स्वास्थ्य संस्थालाई कारबाहीको प्रक्रिया अगाडि बढाइने स्वास्थ्य कार्यालय सुनसरीका निमित्त प्रमुख राजकुमार मेहताले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट पालिका, जिल्ला र प्रदेशले कुन कुन स्वास्थ्य संस्था सञ्चालन दर्ता, अनुमति नवीकरण गराउने भनेर सञ्चालित निजी स्वास्थ्य संस्थाहरूको विवरण माग गरे पनि पालिकाले विवरण उपलब्ध नगराउँदा अनुमतिबिनै सञ्चालन गरेका क्लिनिक, फार्मेसीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन नसकिएको उहाँले बताउनुभयो । “जिल्लाका केही पालिकाले अनुगमनलाई तीव्रता दिए पनि अधिकांश पालिकाले आफ्नो पालिकामा रहेको निजी स्वास्थ्य क्लिनिक, फार्मेसी, अस्पताल, पोलिक्लिनिकलगायत अस्पतालको अनुगमन गरेको पाइएन,” मेहताले भन्नुभयो ।
उहाँका अनुसार देवानगन्ज गाउँपालिकाको मात्रै अनुगमन सकिएको छ । अन्य पालिकाको भने अहिलेसम्म विवरण उपलब्ध भएको छैन । विवरण पठाउन पालिकालाई पुनः पत्राचार गर्ने तयारी रहेको उहाँले जनाउनुभयो । मेहताले भन्नुभयो, “जिल्ला स्वास्थ्य कार्यालयमा जनशक्ति कम भएका कारण सबै पालिकामा अनुगमन गर्न सकिएको छैन । आफ्नो क्षेत्राधिकारभित्र रहेका निजी क्लिनिक, फार्मेसी र अस्पतालको अनुगमन पालिकाले गर्न सक्छ । पालिकाले अनुगमनलाई कडाइ नगर्दा अनुमतिबिना नै निजी क्लिनिक र फार्मेसी सञ्चालनमा छन् ।”
यसैबिच वराहक्षेत्र नगरमा रहेका अधिकांश निजी स्वास्थ्य क्लिनिक र फार्मेसीले नगर स्वास्थ्य शाखामा सूचीकृत (दर्ता) नगरिकन सञ्चालन गरेको पाइएको छ । स्वास्थ्य क्लिनिक र फार्मेसी खोल्न स्थानीय सरकारबाट सूचीकृत (दर्ता) अनुमति लिनुपर्ने भए पनि अधिकांश निजी स्वास्थ्य क्लिनिक र फार्मेसीले नगर क्षेत्रमा अनुमति (दर्ता) बिना नै सञ्चालन गरेको पाइएको हो । नगर स्वास्थ्य शाखामा सूचीकृत नागरिक नै चलाइरहेका औषधी पसललाई दर्ता गर्न नगरले सूचित गरे पनि दर्ता गर्न नआएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नगर क्षेत्रमा रहेका सयभन्दा बढी निजी क्लिनिक र फार्मेसी दर्ताबिना नै सञ्चालनमा रहेको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिनुभयो । पटक पटक जानकारी गराउँदा समेत नगर क्षेत्रमा रहेका निजी क्लिनिक र फार्मेसी दर्ता गर्न नआएको उहाँले जनाउनुभयो । उहाँका अनुसार हालसम्म १५ वटा स्वास्थ्य निजी क्लिनिक र फार्मेसीले मात्रै सूचीकृतको निवेदन दिएका छन् र कागजात पुगेकालाई मात्र सूचीकृत गर्ने प्रक्रिया अगाडि बढेको छ ।
स्वास्थ्य निरीक्षक मेहताले नगर क्षेत्रमा बोर्ड नै नराखी पनि निजी क्लिनिक र फार्मेसीहरू सञ्चालनमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमन गर्न जाँदा कतिपय क्लिनिकमा ताला पनि लगाएर प्रक्रियामा ल्याएका छौँ ।” मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्लिनिक र फार्मेसीहरू सम्बन्धित निकायमा दर्ता नगरी चलाउँदा नगरवासीको स्वास्थ्यसँग खेलबाड भइरहेको छ ।
कतिपय फार्मेसीले औषधी विभागमा दर्ता गरेर यहाँ किन गर्नु प-यो भन्ने सोचले पनि धेरै औषधी पसलले दर्ताबिना चलाएको पाइएको छ । नगर स्वास्थ्य शाखाबाट पटक पटक सचेत गराउँदा पनि अटेर गर्ने पसललाई कारबाहीको दायरामा ल्याउने वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले बताउनुभयो ।