प्रतीक इच्छुक शर्मा
सल्यान, भदौ ३० गते । ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उहाँका नौ महिने छोरी ऋतु थापाको ज्यान गएको हो ।
शुक्रबार राति खाना खाएर सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुती रहेको बिस्तारामा आगो सल्किँदा उहाँहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।