• ११ पुस २०८२, शुक्रबार

तम्घास बजारमा सडक बत्ती जडान

blog

तम्घास बजार । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस ११ गते ।
गुल्मीको सदरमुकाम तम्घासमा सडक बत्ती जडान तथा विस्तारको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । रेसुङ्गा नगरपालिकाले उज्यालो शहर बनाउने अभियानअन्तर्गत बजार क्षेत्रदेखि बस्तीहरुसम्म सडक बत्ती जडानलाई प्राथमिकता दिएको बताइएको छ । अहिले रेसुङ्गा  नगरपालिका १, २, ७, ८ र ९ मा सडक बत्ती जडानको काम सम्पन्न हुँदैछ ।

यस नगरपालिकाको १ नम्बर वडाको विभिन्न स्थानमा १२५ वटा सडक बत्ती जडान गरिएको छ । बजारको सौन्दर्यता र पर्यटक आकर्षण बढाउन घरेलु कार्यालयदेखि हुलाक कार्यालयसम्मका पोलहरुमा सडक बत्तीसँगै झिलमिली बत्ती पनि जडान गरिएको छ । बत्तीको जडान र विद्युत महसुल दुबै वडा कार्यालयको आन्तरिक बजेटबाटै व्यवस्था गरिएको छ । २ नम्बर वडाको विभिन्न स्थानमा १६५ वटा बत्ती जडान गरिएको बताइएको छ ।

यस वडाको उदिनढुङ्गा बसपार्कदेखि वडा कार्यालय, छापटोला, बाँझेपोखरी दलित बस्ती, बाख्रेछेडा, धागीथुममा सडक बत्ती जडान गरिएको छ । करिब चार लाख रुपियाँको लागतमा वडा कार्यालयको आन्तरिक बजेटबाट गरिएको छ । रेसुङ्गा नगरपालिकाले उदिनढुङ्गा बसपार्क, खानिगाउँको बुढाथोकी बसपार्क र चिदिचौरमा हाइमास्ट लाइट जडान गरिसकेको छ । सडक लाइटको विद्युत महसुल सम्बन्धित वडा कार्यालयहरुले नै भुक्तानी गर्दै आएका छन् ।

यसैगरी, ७ नम्बर वडाको सोता, माइकास्थान, सल्लेरी, मौरीका डाँडा लगायत क्षेत्रमा १५० भन्दा बढी सडक बत्ती जडान गरिएको छ । ८ नम्बर वडाका विभिन्न स्थानमा २५० वटा सडक बत्ती जोडिएको छ । ९ मा पनि सडक बत्ती विस्तार गरिएको छ । यस वडामा १७० भन्दा सडक बत्ती सञ्चालन गरिएको बताइएको छ । सडक बत्ती जडानले स्थानीय बासिन्दाको दैनिकी सहज र सुरक्षित बनेको बताइएको छ ।