• १ जेठ २०८२, बुधबार

नयाँ मुद्दा उठाउन आग्रह

blog

रुपन्देही समाचारदाता

रुपन्देही, भदौ २९ गते । तिज पर्व मनाउँदा सँगसँगै महिलाका नयाँ मुद्दा उठाउनुपर्नेमा जोड दिइएको छ । चाडपर्व मनाउँदा हक अधिकारलाई अझ बढी मुखरित गर्नुपर्नेमा जोड दिइएको हो । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ तथा तिज मिलन कार्यक्रममा बोल्ने वक्ताले समय अनुसार महिलाका नयाँ मुद्दा उठाउनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा अभियानका लागि रुपन्देही इन्चार्ज गणेशमान पुनले चाडपर्व मनाउँदै गर्दा महिलाले उठाउनुपर्ने नयाँ मुद्दा छुटाउन नहुने बताउनुभयो । पुनले भन्नुभयो, “तिज मनाउँदा पहिले सुखदुःख, रोदन र पीडाका कुरा गाइन्थ्यो तर अहिले समय बदलिँदै गएको छ, अब महिलाका नयाँ मुद्दा उठाउन जरुरी छ ।” 

महिलाका हक अधिकार मात्र नभएर समग्र राज्य प्रणालीमा महिलाको समान सहभागिता अहिलेको आवश्यकता भएको उहाँले चर्चा गर्नुभयो । अहिलेको सरकारले गरेका कतिपय राम्रा भ्रष्टाचारविरोधी अभियानलाई गाउँ गाउँसम्म पु¥याउन महिलाको मुख्य भूमिका हुने भन्दै उहाँले महिला अब राजनीतिको उच्च तहसम्म पुग्ने गरी क्षमता विकासका कार्यक्रममा सहभागी हुनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्माले माओवादीमा आबद्ध महिलाले समाज रूपान्तरण अभियानलाई सहयोग हुने गरी पर्व मनाउनुपर्ने उल्लेख गर्नुभयो । संविधान सभा सदस्य सोनिया यादवले मधेशी महिलाका मुद्दालाई राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै पिछडिएका मधेशी महिला अब राजनीतिको मूलधारमा आउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले महिला राज्यका माथिल्लो तहमा पुगेर राज्य चलाउन सके अनियमितता कम हुन सक्ने बताउनुभयो । पुरुषको तुलनामा महिला बढी इमानदार हुने हुँदा महिलाले नेतृत्व गरेका निकायमा अनियमितता कम हुने विश्वास व्यक्त गर्नुभयो । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का रुपन्देही जिल्ला अध्यक्ष दीपिका शर्मालगायतले महिला सशक्तीकरणका मुद्दामा केन्द्रित भएर अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।