दिवाकर पोख्रेल
देउखुरी, भदौ २९ गते । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशन कानुन निर्माणको हिसाबले सफल देखिएको छ । पहिलो कार्यकालमा समेत बन्न नसकेका विधेयक दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा पारित भएकाले कानुन निर्माणका हिसाबले सफल भएको प्रदेश सभा सदस्यको दाबी छ ।
लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारूले दोस्रो अधिवेशनमा कानुन निर्माण गर्नेदेखि कानुन निर्माणका विषयमा धेरै मन्थन भएका कारण पनि सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रदेश सभा सदस्यको मुख्य काम भनेकै कानुन निर्माण हो, यसमा अघिल्लो कार्यकालमा भन्दा सुधार देखिएको छ । अबको ध्यान कानुन निर्माणसँगै त्यी कानुनको कार्यान्वयन पक्षलाई पनि ख्याल गनुपर्ने छ ।” लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनबाट चार वटा विधेयक पारित भएका छन् । पहिलो अधिवेशनको तुलनामा दोस्रो अधिवेशन कानुन निर्माणमा सफल मानिएको हो ।
असार २२ मा प्रदेश सभामा दर्ता भएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक भदौ २२ गते प्रदेश सभाले पारित ग-यो । यस्तै आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरेको छ । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको हो । यी दुई वटै विधेयक असार १ मा दर्ता भएर असार ३० मा पारित भएका थिए । प्रदेश सभाले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पनि पारित गरेको छ । दोस्रो अधिवेशनमा साउन २३ गते प्रदेश सभा बैठकले विधेयक पारित गरेको हो ।
विसं २०७९ चैत २३ गते विधेयक दर्ता भएको थियो । प्रदेश सभामा अहिले एउटा विधेयक भने विचाराधीन छ । औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७९ विचाराधीन रहेको हो । यो विधेयक वैशाख ८ गते प्रदेश सभामा दर्ता भएको थियो ।
प्रदेश सभाबाट निजामती कर्मचारी विधेयक पास भएर प्रदेशलाई बलियो बनाउने काम प्रदेश सभा सदस्य अनुराग खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशलाई बलियो हुने गरी विधेयक पास भएका छन्, जसले हाम्रो जिम्मेवारीमध्येको एउटा पाटो जिम्मेवार देखियो ।” प्रदेश सभा सदस्य नेपाली कांग्रेसका सचेतक निमा गिरीले प्रदेश सभाको दोस्रो अधिवेशन कानुन निर्माणको दृष्टिले सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य कुरा त निजामती कर्मचारी विधेयक पास हुनु नै उपलब्धि हो, कानुन निर्माणका साथ साथै जनतासँग प्रदेशलाई जोड्ने कुराले पनि तुलनात्मक रूपमा सफलता प्राप्त भयो भन्ने लागेको छ ।”
मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट बनेको दोस्रो कार्यकालको प्रदेश सभाको पहिलो बैठक पुस १८ मा बसेको थियो । पहिलो अधिवेशनमा १० वटा बैठक बसेका थिए । पहिलो अधिवेशन प्रदेश सभा सरकार बनाउनमा तल्लीन देखियो । लुम्बिनी प्रदेश सभाका सूचना अधिकारी सम्झना सुवेदीका अनुसार दोस्रो अधिवेशनमा बसेका २५ वटा बैठकबाट पहिलो अधिवेशनभन्दा दोस्रो अधिवेशन कानुन निर्माणका दृष्टिले उपलब्धिपूर्ण रह्यो । दोस्रो अधिवेशनमा बैठकमा जनजीविकाका विषयदेखि प्रदेश सरकारलाई जिम्मेवार बनाउने विषयमा महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो ।