• १४ मंसिर २०८१, शुक्रबार

एकीकृत अनुसन्धान केन्द्र स्थापना

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, भदौ २९ गते । फक्ताङ्लुङ गाउँपालिकामा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना गरिएको छ। स्थानीय किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले अनुसन्धान केन्द्र स्थापना गरेको हो।

रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगले खेतीयोग्य जमिन तथा माटोको उर्वर शक्तिमा ह्रास आइरहेको अवस्थासमेतलाई दृष्टिगत गरी अनुसन्धान केन्द्र  स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो। उहाँका अनुसार परम्परागत कृषि प्रणालीबाट आधुनिकतातर्फ उन्मुख गराई जीविकोपार्जनमा सहयोग पु¥याउने मुख्य उद्देश्य राखेर एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रको अवधारणा ल्याइएको हो।

अनुसन्धान केन्द्र स्थापनाले माटोको उर्वरा शक्ति कायम राख्नका साथै अर्गानिक र स्वस्थकर कृषि उपज उत्पादकत्व बढाउनमा टेवा पुग्ने विश्वास गाउँपालिकाले राखेको छ। आधुनिक कृषि प्रणाली अन्तर्गत जैविक तथा प्राङ्गारिक मलको प्रयोग गरी उत्पादनमा वृद्धिका साथै आधुनिक कृषि प्रणालीको विकास गर्ने लक्ष्य राखिएको पनि गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो।

फक्ताङ्लुङ कृषि तथा पशुपालन अनुसन्धान केन्द्र नाम दिएर सुरु गरिएको कृषि योजना गाउँपालिकाको मात्र नभई सिङ्गो जिल्लाकै नमुना भएको अध्यक्ष लिम्बूका स्वकीय सचिव दिलकुमार पतङ्वाले बताउनुभयो। आधुनिक कृषि प्रणाली र पशुपालन कर्ममा परिवर्तन ल्याई आगामी पाँच वर्षभित्र फक्ताङ्लुङ गाउँपालिकालाई अर्गानिक पालिका घोषणा गर्ने गाउँपालिकाको योजना रहेको पनि उहाँको भनाइ छ। 

उहाँका अनुसार फक्ताङ्लुङ गाउँपालिका–५, तापेथोकको छिरुवामा करिब १० रोपनी जग्गा लिज (भाडा) मा लिएर अनुसन्धान केन्द्र स्थापना गरी विभिन्न तरकारी खेती र पशुपन्छी पालन सुरु गरिएको छ। गाउँपालिकाका लगानी रहेको अनुसन्धान केन्द्रमा अर्गानिक तरकारी उत्पादन गर्न एक दर्जनभन्दा बढी प्लास्टिक टनेल बनाएर विभिन्न तरकारी खेती सुरु गरिएको छ। यस्तै उन्नत जातका गाई, बयर जातका बाख्रा र उन्नत जातको बङ्गुरपालनसमेत सुरु गरिएको छ।

कृषि बाली अर्थात् तरकारी खेतीमा प्रयोग गर्ने जैविक तथा प्राङ्गारिक मल हिमालयन एग्रो इकोलोजी रिसर्च एन्ड डेभलपमेन्ट नामक संस्थाको प्राविधिक सहयोग रहेको छ। हाल छुट्टै संरचना निर्माण गरेर जैविक झोल मल तथा ढुसी मल उत्पादनको कार्य भइरहेको छ भने चाँडै गँड्यौला अर्थात् प्राङ्गारिक मल उत्पादन गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ। पशुचौपायाको खुराकका लागि उन्नत जातको घाँस लगाएको जनाइएको छ। 

अनुसन्धान केन्द्र स्थापनापछि गाउँपालिकाका प्रत्येक वडा तथा टोल टोलका किसानलाई ल्याएर तरकारी खेती र पशुपालन विधिको अवलोकन गराउने गरिएको छ। तरकारी खेती र पशुपालन प्रणालीसम्बन्धी अनुसन्धान केन्द्रमा फक्ताङ्लुङ तालिम प्रदान गरिने छ भने तालिमपश्चात् किसानलाई आआफ्नो ठाउँमा गएर खेती गर्न र पशुपालन विधि अपनाउन उत्प्रेरित गरिने छ। स्थानीय किसानले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्था तथा बजारीकरणमा गाउँपालिकाले सघाउने पालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूले जानकारी दिनुभयो।