• २८ वैशाख २०८२, आइतबार

सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योः अध्यक्ष ओली

blog

नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं, भदौ २८ गते । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाका दिवंगत अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ। 

बिहीवार नेकपा (एमाले) को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताउनुभएको हो । उहाँले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताउनुभयो । उहाँले नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताउनुभयो । अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानुन उल्लंघन गर्नु नहुने मान्यतामा रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँ चुनिएपछि वास्तवमै दलीय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमान्दारिता र कानुनको हिसाबले चल्नुपर्छ । आफूले आफैलाई पनि कानुनमा बाँध्नुपर्छ । कानूनको उल्लंघन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । र उहाँ एउटा सफल राजनेताको रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो ।’ 

अध्यक्ष ओलीले नेम्वाङ सामुदायिक विद्वेषको विरुद्धमा रहेको बताउनुभयो । उहाँले नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको ओलीको भनाइ छ । नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहनुभएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘उहाँ सामुदायिक विद्वेषजस्ता कुराहरुका विरुद्धमा नेपाल चिन्नुभएको थियो । नेपाली जनता चिन्नुभएको थियो र उहाँ विविधतायुक्त नेपाली समाज, विविधतालाई गलत ढंगले प्रयोग नगर्ने उहाँ सधैभरी सामाजिक सद्भावको पक्षमा, सामाजिक न्याय र सामाजिक न्यायमा आधारित सद्भाव र त्यसमा आधारित राष्ट्रिय एकताको पक्षमा हुनुहुन्थ्यो ।" नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको अध्यक्ष ओलीले स्मरण गर्नुभयो ।