• १२ साउन २०८१, शनिबार

१९औं एसियाड टोलीको बिदाइ : खेलाडीको हौसला बढाउन प्रधानमन्त्री चीन जाने

blog

खेलाडीको बिदाइ कार्यक्रममा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, खेलकुद मन्त्री डिगबहादुर लिम्बूलगायत । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, भदौ २८ गते । चीनको हाङझाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६ गतेदेखि २१ गते) सम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागीता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले एसियाड टोलीको बिदाइ गर्नुभएको हो । एसियाकै ठूलो खेल कुम्भमेलामा नेपालले यसपटक विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता रहने छ । 

४५ देश सहभागी हुने एसियाडमा कूल ४० खेलमध्ये नेपालले २९ खेलमा भाग लिनेछ ।  एसिायडमा नेपालबाट बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३,  ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३ खेलाडी सहभागी हुनेछन् । 

यस्तै फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

हौसला बढाउन प्रधानमन्त्री चीन जाने 

खेलाडी बिदाइ कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले खेलाडीको हौसला बढाउन आफू चीन जान लागेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड एसियाडको उद्घाटन सत्रमा चीन जानुहुनेछ । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली खेलाडीको क्षमता राम्रो रहेकोले एसियाडमा उच्च प्रदर्शन हुने बताउनुभयो । 

उहाँले चीन सरकारसँग नेपाली खेलकुदको भौतिक संरचना निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो । ‘‘विस्तारै नेपाली खेलकुद राम्रो भइरहेको छ । खेलाडीले राम्रो खेलिरहनु भएको छ । हाम्रो संरचना अझै प्रर्याप्त छैन । यसका लागि सरकारले उचित व्यवस्था गर्दै जानेछ । खेलाडीलाई पुरस्कार र प्रोत्साहन गर्न पनि सरकार तत्पर छ,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

खेलकुद मन्त्री लिम्बुले नेपाली खेलाडीको तयारी राम्रो रहेकोले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गर्नुभयो । बिदाइ कार्यक्रममा एसियाडका सेफ दि मिसन एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतको उपस्थिति थियो ।

बिहीबार बालुवाटारमा १९ खेलका खेलाडी, प्रशिक्षक र अफिसियललाई बिदाइ गरिएको हो । विभिन्न १० खेलका खेलाडी अहिले उपत्यका बाहिर र वैदेशिक प्रशिक्षणमा छन् । एसियाडका लागि नेपालले डेढ महिनादेखि बन्द प्रशिक्षण सुरु गरेको थियो । 


एसियाडमा नेपालको २४ पदक

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले एसियाडमा सहभागिता जनाउन थालेको हो । नयाँ दिल्लीदेखि अहिले हाङझाउसम्म आइपुग्दा एसियाडले १८ संस्करण पार गरिसकेको छ । 

यसबीच नेपालले मनिला, १९५४ र जकार्ता, १९६२ बाहेक सबै संस्करणमा सहभागिता जनाएको छ । हाङझाउ एसियाड नेपालको १७औं एसियाड सहभागिता हो । दिल्लीमा सन् १९८२ मा भएको १०औं संस्करणमा आएर बल्ल पदक जितेको थियो । त्यतिबेला बक्सिङका स्वर्गीय दलबहादुर रानामगरले नेपालका लागि कांस्य पदक जित्नुभएको थियो । 

त्यतिवेला दिल्लीमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान चार चार गरी आठ कांस्य पदक जितेको थियो । अहिलेसम्म नेपालले एसियाडमा कूल २४ पदक जितेको छ । जसमा दुई रजत समावेश छ ।

नेपालले तेक्वान्दो, बक्सिङ, कराते र प्याराग्लाइडिङबाहेक अन्य खेलमा पदक जित्न सकेको छैन । अहिलेसम्म तेक्वान्दोले सर्वाधिक १५ पदक जितेको छ । बक्सिङले ६, करातेले दुई तथा प्याराग्लाइडिङले एक पदक जितेको छ । नेपालले स्वर्ण पदक भने जित्न सकेको छैन । 

बैंककमा सन् १९९८ मा भएको १३औं संस्करणमा नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत जित्नुभएको थियो । नेपालले दोस्रो रजत पदक गत संस्करण जकार्ता–पालेम्बाङमा भएको एसियाडमा प्याराग्लाइडिङबाट जितेको थियो ।


यो पनि पढ्नुहोस