• १६ भदौ २०८१, आइतबार

१९ औँ एसियाली खेलकुद प्रतियोगिता

खेलाडीले देशको गौरव र उचाइ बढाउने प्रधानमन्त्रीको विश्वास

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, भदौ २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्रीले नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवम् संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध जनाएको जानकारी दिनुभयो ।

‘‘मैले पटक–पटक जोड दिएर भन्दै आएको छु– खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठुलठुला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार हो । नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ । त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।’’

त्यस्तै, १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई प्रधानमन्त्रीले भन्नुभयो उहाँले यसपटक थप राम्रो गर्नुहुने, देशको गौरव र उचाइ बढाउनुहुने विश्वास व्यक्त गर्नुभयो ।

‘‘नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको छ, यसपटक पनि राम्रो गर्नेछ भन्ने सरकारको विश्वास छ । पछिल्लोसमय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईँहरूको अथक मेहनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ– यसपटक तपाईँहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ ।’

यसैगरी, उहाँले नेपालबाट पहिलोपटक यति ठुलो सङ्ख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गर्ने विश्वास लिएको भनाइ व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नुहुने जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालबाट पहिलोपटक यति ठुलो सङ्ख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गर्ने मैले विश्वास लिएको छु ।’’


सम्माननीय प्रधानमन्त्री प्रचण्डले गर्नुभएको सम्बोधनको पूर्णपाठ

१. सर्वप्रथम यही असोज ६ गतेदेखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापक मित्रहरूमा हार्दिक बधाई का साथ प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्दछु ।

२. विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नुहुने जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालबाट पहिलोपटक यति ठुलो सङ्ख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गर्ने मैले विश्वास लिएको छु ।

३. नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको छ, यसपटक पनि राम्रो गर्नेछ भन्ने सरकारको विश्वास छ । पछिल्लोसमय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ । धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईँहरूको अथक मेहनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ– यसपटक तपाईँहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ ।

४.खेलाडी छनोटका लागि तीन चरणको प्रक्रिया पूरा गरी कढाइ महिनादेखि तपाई हरू बन्द प्रशिक्षणमा रहेको मैले जानकारी पाएको छु । यसकारण पनि यसपटक नेपालले राम्रो गर्ने विश्वास छ । म आफूसमेत प्रतियोगिता हेर्न चीन भ्रमणमा जाँदैछु । त्यसले तपाईँहरूको मनोबल बढाउन र खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न सहयोग पुग्ने मैले विश्वास लिएको छु ।

५.मैले पटकपटक जोड दिएर भन्दै आएको छु– खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठुलठुला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार हो । नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवम् संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ । त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।

६.यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ । छिट्टै यो समस्या समाधान गरिनेछ । तपाईँहरूको मनोबल र वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म तपाईँहरूमा आग्रह गर्दछु ।

७.प्रतियोगिताको तयारीका सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयले जुन तयारी र भूमिका खेलेको छ, त्यसका निम्ति धन्यवाद व्यक्त गर्दछु । तपाई खेलाडी साथीहरू उच्च मनोबलका साथ खेल्नुहुनेछ । प्रशिक्षक र व्यवस्थापकले पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ । अन्त्यमा, सरकार हमेसा तपाईँहरूको साथमा रहेको जानकारी गराउँदै उच्च मनोबल र दृढताका साथ प्रतियोगितामा सहभागी हुन अपिल गर्दछु, धन्यवाद ।