• १३ मंसिर २०८१, बिहिबार

सडक ढलान भएसँगै बजार व्यवस्थित

blog

कालोपत्रे गरिएको हिल्सा बजारको सडक । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, भदौ २८ गते । नेपाल र चीनको सिमाना रहेको हिल्साको नेपालपट्टी सडक पक्की ढलान गरिएको छ । हिल्सा बजारक्षेत्रको धुलाम्मे सडकलाई सघन सहरी विकास कार्यालयले सडकलाई पक्की ढलान गरेको हो ।  

हिल्साका होटेल व्यवसायी कार्मा तुण्डुप लामाले बजार क्षेत्रको सडक ढलान गर्ने काम भएको बताउनुभयो । पानी पर्दा हिलाम्मे र अन्यबेला धुलाम्मे हुनेगरेका कारण हिल्सावासीको माग अनुसार सडक ढलान गरिएको उहाँले बताउनुभयो ।

हिल्सावासीको मागअनुसार सडक ढलान गर्नु आवश्यक देखिएको हिल्सा बजारको दुई सय मिटर सडक ढलान गरिएको छ । सधैँ हावा लागेर धुलो हुने हिल्सा बजारको सडकमा पहिलो पटक सडक पक्की ढलान गरिएको हो । 

त्यसका लागि कार्यालयले एक करोड बजेट लगानी गरेको छ । सडक ढलान भएसँगै हिल्सा बजार व्यवस्थित भएको छ । सडकको काम स्थानीय उपभोक्ता समितिबाट निर्माण गरिएको हो । ढलान  गरिएको सडक ६ मिटर चौडा रहेको छ ।