जानु पाण्डे
कपिलवस्तु, भदौ २८ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका –१० सौनहवामा साइकल मर्मत गर्ने जमिल मियाँ (जमिर) को बिरामी वृद्ध आमाको खसी बेचेर उपचार गर्ने सोच बनाउनुभयो । मंगलबार आफू र दाजु रियाजले पालेका ९ ओटा खसी चन्दौटामा बिक्री गर्न लग्नुभयो ।
प्रहरी चौकी खडैचा अगाडि प्रहरीले पक्राउ गरेको छ । जमिलसँग आफूले पालेको खसी बोका हो भन्ने कागजात थिएन । त्यसपछि प्रहरीले अटोसहित ९ ओटा खसी नियन्त्रणको जनाएको छ ।
खसी बेच्न बिहान ४ बजे छिमेकी सुवास मौर्यको अटो मगाउनुभयो । लु १ ह १५९३ नम्बरको अटोमा खसी बोका लैजाँदै हुनुहुन्थ्यो । प्रहरीले तस्करको आशङ्कामा पक्राउ गरेको जनाएको छ । तस्करी गरेर ल्याएको भए लुकाएर लैजान्थेँ हुँला । घरमा पालेको भएर ढुक्क भएर मुख्य सडक र प्रहरी चौकी अगाडीबाट लगेको मियाले बताउनुभयो ।
प्रहरीले खसी नियन्त्रणमा लिएपछि मियाँले वडा कार्यालयको सिफारिस ल्याउनुभयो । कृष्णनगर नगरपालिका –१० ले भदौ २५ गते खसी बोका बिक्रीको लागि चन्द्रौटा पुराउन भन्दै सिफारिसपत्र प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले भारतीय सीमाबाट अवैध रूपले भित्रिएको खसी बोका बरामद गरेको बताउनुभयो । गोप्य सूचनाका आधारमा खडैया सडकमा चेकजाँच गर्नेक्रममा पक्राउ गरेको उहाँको भनाइ छ ।
अटो रिक्सा, ९ ओटा खसी बोका र अटो चालकसहित खसी बोका ल्याउने जमिर मियाँ, रियाज मियाँ र मौताव मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मियाँले घरमै खसी बोका पाल्दैआएको कृष्णनगर नगरपालिका १० का अध्यक्ष हरिपाल चतुर्वेदीले बताउनुभयो ।
अहिले पनि उहाँको घरमा पाठापाठी रहेको उहाँको भनाइ छ । प्रहरीसँग आग्रह गरे पनि कुरा नसुनेको वडाध्यक्ष चतुर्वेदीको गुनासो छ । पक्राउ परेका खसी बोका, अटो र ४ जनालाई प्रहरीले कृष्णनगर भन्सार कार्यालयमा बुझाएको छ ।