• १० मंसिर २०८१, सोमबार

पशुपतिमा नेम्वाङको अन्तिम संस्कार गरिँदै

blog

नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर: केशब गुरुङ

काठमाडौं, भदौ २८ गते । संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।

राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही चाबहिल हुँदै पशुपति आर्यघाट ल्याइएको हो ।


पशुपतिमा फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । यसैगरी, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।


प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्नुभयो । श्रद्धाञ्जलीको क्रम जारी छ ।

नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको छ ।  अब नेम्वाङको दाहसंस्कार गरिने छ । गत मङ्गलबार निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उहाँको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

तस्बिर : मनोजरत्न शाही, केशब गुरुङ र सुजन गुरुङ