बाजुरा समाचारदाता
बाजुरा, भदौ २८ गते । आधुनिकतासँगै परम्परागत सामग्रीको उपयोग कम हुन थालेका बेला बाजुराका एक कर्मचारी भने निगालोबाट बनेका परम्परागत सामग्रीको प्रवर्धन गरी आम्दानीको राम्रो आयस्रोत बनाउँदै आएका छन्।
बाजुराको बुढीगङ्गा नगरपालिका–४, साउँबाडाका कृष्णबहादुर खातीले गाउँगाउँबाट निगालाका सामग्री खरिद गरेर सार्वजनिक बिदाका दिन ती सामग्री बिक्री गरेर आम्दानी गरिरहनुभएको हो।
उहाँ वडा कार्यालयको कर्मचारी हुनुहुन्छ। साताका छ दिन कार्यालयमै हाजिर हुनुपर्ने हुन्छ। शनिबार र बिदाको दिन भने उहाँ डोकाडाला र छाप्रो (रोटी राख्ने) लिएर प्रत्येक गाउँ बस्तीमा गएर बिक्री गर्दै आउनुभएको छ।
कृष्णबहादुर भन्नुहुन्छ, “परिवार ठुलो छ, तलबले परिवार पाल्न मुस्किल भएपछि बिदा र शनिबारको दिनमा निगालाका सामग्री बेच्ने गरेको छु। उहाँले मासिक १४ हजार पाँच सय रुपियाँ तलब बुझ्दै आउनुभएको छ।
“एकातिर आम्दानी हुने अर्कोतिर स्थानीय स्रोतसाधनको सदुपयोग तथा प्रवर्धन हुने भएपछि मैले यो काम गरिरहेको छु,” खातीले भन्नुभयो, “मेरा दुई छोरा र दुई छोरी छन्। उनीहरूको सम्पूर्ण खर्च यसैबाट पूरा गरेको छु।”
उहाँले फलफूल खेती पनि गर्नुभएको छ। २०७६ सालको फागुन चैतमा लगाएका स्याउ, सुन्तला, नासपाती, ओखर अहिले फल्ने अवस्थामा छन्। बाँझो रहँदै आएको जमिन अहिले सदुपयोग गरेको उहाँ बताउनुहुन्छ।
उहाँले निगालोका सामग्री बिक्री गरेर महिनाको २५ हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ। कामको खोजीमा भारतलगायतका देशमा गएका युवालाई गाउँमै काम गर्ने उपायसमेत सुझाउने गर्नुहुन्छ उहाँ।
खप्तड छेडेदहका विभिन्न गाउँबस्तीमा आलु, मूला, रायो चोतोलगायतका अर्गानिक तरकारी राम्रैसँग उत्पादन हुने गरेकाले युवा विदेश पलायन हुनुभन्दा यता कृषितिर लाग्नुपर्नेमा उहाँको सुझाव छ।
हाम्रा गाउँका युवा काम गरी खान लाज मान्छन् तर भारतलगायत विभिन्न देशमा गएर शौचालय सफा गर्न र घरमा भाडा माझ्न रमाउँछन्। उहाँले भन्नुभयो, “स्वदेशमा तरकारी खेती, बाख्रापालन, भैँसीपालन र गाईपालनको भविष्य छ।”