• १४ मंसिर २०८१, शुक्रबार

पहिरोपीडितलाई राहत सामग्री

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २८ गते । फक्ताङ्लुङ गाउँपालिका–४, इखाबुका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

फक्ताङ्लुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले पहिरोबाट घर क्षतिग्रस्त भई विस्थापित भएका बिरहाङ लिम्बू र भक्तबहादुर लिम्बूको परिवारसमेत नौ परिवारलाई राहत सामग्री वितरण गरेको हो । घर पूर्ण रूपमा क्षति भएका दुई परिवारलाई ५० किलोग्रामका दरले चामलसहितका खाद्यान्न सामग्री र एक एक थान त्रिपाल वितरण गरिएको छ ।

रेडक्रस सोसाइटीले पनि पहिरोमा घर गुमाएका दुई परिवारलाई भाँडावर्तन, लत्ताकपडालगायतका सामग्री वितरण गरेको गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का स्वकीय सचिव दिलकुमार पतङ्वाले जानकारी दिनुभयो । 

उहाँका अनुसार इसाई समाज फक्ताङ्लुङ गाउँपालिकाले पनि दुई परिवारलाई ३० किलोग्रामका दरले चामल वितरण गरेको छ । यस्तै घर उच्च जोखिममा परेका रामकुमार लिम्बू, दिलीप लिम्बू, चैतन्य लिम्बू, मकरध्वज लिम्बू र आर्यन लिम्बू तथा जोखिममा परेको सुशील लिम्बू र धनवीर लाबुङको परिवारलाई गाउँपालिकाका तर्फबाट एक एक थान त्रिपाल उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । पहिरोपीडित परिवारलाई प्रभावित क्षेत्रमै पुगेर गाउँपालिका अध्यक्ष लिम्बूसहितको टोलीले राहत सामग्री वितरण गरेको थियो ।