• १२ साउन २०८१, शनिबार

तटीय बस्ती बग्दा छ हजारभन्दा बढीको मृत्यु

blog

काठमाडौँ, भदौ २८ गते । लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा छ हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। १० हजारभन्दा बढी मानिस हराइरहेका छन्।

आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिएपछि भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति गरेको हो। विश्व मौसम सङ्गठनका अनुसार आँधी प्रतिघण्टा ८० किलोमिटरको तेज गतिमा आएको थियो। जसले दुई वटा बाँध फुटाएपछि डेर्ना र आसपासका सहरका बस्ती समुद्रमा बग्न पुगेका हुन्। विपत्मा परेकाको उद्धारमा कठिनाइ आएकाले हजारौँ शव सामूहिक चिहानमा गाडिएका छन्। नेपाल र लिबियाबिच सन् १९७५ देखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो। युद्धग्रस्त मुलुक भएकाले पनि संयुक्त राष्ट्रसङ्घमार्फत लिबियामा नेपालका २३५ जना शान्ति सैनिक कार्यरत रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँले नेपाली शान्ति सैनिक टोली समुद्रमा हेलिएको बस्तीभन्दा करिब ११२ किलोमिटर पर रहेकाले सकुशल रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नेपाली शान्ति सैनिकको टोली सुरक्षित छ र आफ्नो काम गरिरहेको छ।”

नेपालबाट वैदेशिक रोजगारीका लागि अवैधानिक रूपमा लिबियामा काम गर्न पुग्ने र युरोप जान समुद्रको बाटो हुँदै जाँदा त्यहाँ केही समय बस्ने भएकाले त्यसको यकिन तथ्याङ्क भने छैन। वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीले सरकारले लिबियालाई रोजगारमा जान निषेधित गरेको देशमध्ये रहेको जानकारी दिनुभयो। 

रेडव्रmसको अन्तर्राष्ट्रिय महासङ्घ र रेड क्रिसेन्ट सोसाइटीको टोली उद्धार र उपचारका लागि खटिएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आँधीले निम्त्याएको विपत्पछि लिबियामा हजारौँ मानिस प्रभावित भएको बताउनुभएको छ।  समुद्र नजिकको बस्तीमा एक लाखभन्दा बढीको जनसङ्ख्या रहेको अनुमान छ। अस्पताल, सञ्चार, विद्युत् र यातायातबाट विच्छेद भएको बस्ती त्यहाँ काम गर्ने सहायता समूहले सम्हाल्न नसक्ने अवस्थामा रहेको छ। 

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता मार्गरेट ह्यारिसले लिबियामा आपत्कालीन अवस्था आएको बताउँदै त्यहाँ १८ लाख मानिस प्रभावित बनेको संयुक्त राष्ट्रसङ्घलाई जानकारी दिनुभएको छ। विश्वका ४० भन्दा बढी देशबाट युरोप जाने ट्रान्जिट देश भएकाले थुप्रै आप्रवासी विपत्मा परेको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसङ्घीय आप्रवासी सङ्गठनले गरेको छ। एजेन्सीका अनुसार त्यहाँ ६० हजारभन्दा बढी आप्रवासी रहेका छन्।    (एजेन्सीको सहयोगमा)