• १६ वैशाख २०८१, आइतबार

६१ किलो सुन तस्करी प्रकरण : केन्द्रीय अनुसन्धान ब्युरोले बुझायो प्रतिवेदन

blog

सुन तस्करी प्रकरणको अनुसन्धानबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराउँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का निर्देशक एआईजी किरण बज्राचार्य । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, भदौ २७ गते। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। 

सिआइबीले बुधवार जिल्ला सरकारी वकिलको कार्यालयमा ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता महेशप्रसाद खत्रीले अनुसन्धान प्रतिवेदन कार्यालयमा आएको जानकारी गराउनुभयो। 

उहाँले अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको भन्दै प्रतिवेदनलाई हेर्दा फरार प्रतिवादीसमेत गरेर २९ जनालाई प्रतिवादी बनाइएको बताउनुभयो। उहाँले संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न ६० दिनसम्मको समय हुने भन्दै आज ५७ दिन पुगिसकेकाले बाँकी रहेको तीन दिनभित्रमा अदालतमा अभियोजनका लागि पेस गर्ने बताउनुभयो। 



उहाँले भन्नुभयो, ‘‘भर्खरै अनुसन्धान प्रतिवेदन आइसकेको छ। अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको हुनाले यसमा के छ, कसो छ, कति जनालाई प्रतिवादी बनाइएको छ, कति जनालाई मुद्दा नचल्ने निर्णय भएको छ भन्नेकुरा खुल्न बाँकी नै छ। अगाडिपट्टी हेर्दाखेरी फरार प्रतिवादीसमेत २९ जनालाई प्रतिवादी बनाएको अवस्था छ। जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ताहरुले आज यसको अध्ययन गरिसकेपछि, आज ५७ औँ दिन हो। ६० दिनसम्म संगठित अपराध मुद्दामा अनुसन्धान अभियोजनका लागि सरकारी वकिल कार्यालय र प्रहरीले यसमा अनुसन्धान अभियोजनका लागि राख्ने म्याद हुन्छ। ६१ औँ दिनमा जसरी पनि हामीले अदालतसमक्ष प्रश्तुत गर्नुपर्ने भएकाले अब हामी समक्ष यो अभियोजन गर्नका लागि टिमले अध्ययन गर्ने र तथ्य र प्रमाणको विश्लेषण गरेर अभियोगपत्र तयार गर्ने जिम्मेवारी आइपुगेको छ।’

उहाँले रातदिन काम गरेर भएपति बाँकी रहेको तिन दिनभित्रमा सरकारी वकिलको कार्यालयले गर्नुपर्ने काम सक्ने र समयसीमा भित्रै मुद्दा अदालतमा दर्ता गर्ने बताउनुभयो।