• १६ वैशाख २०८१, आइतबार

संविधान दिवस : राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाइने

blog

काठमाडौं, भदौ २७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाउन अपिल जारी गरेको छ ।

सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले गत भदौ १८ गते भएको निर्णय अनुसार संविधान दिवस मनाउने मूल समारोह समितिबाट असोज २, ३ र ४ गते  नेपालको संविधानका विषयमा केन्द्रीत रही विशेष संवाददेखि स्मारिका, लेख÷रचना प्रकाशन र सार्वजनिक निकायका कार्यालयहरुमा दीप प्रज्ज्वलन गर्न सम्बन्धित सबै निकायमा अनुरोध गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार, नवौं संविधान दिवसका अवसरमा नेपाल पत्रकार महासंघलगायत सरकारी सञ्चार माध्यमहरु गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, विज्ञापन बोर्डलगायतका संस्थामा तीन दिन नेपालको संविधान विषयक विशेष कार्यक्रम गर्न, गराउन अनुरोध गरिएको छ ।

संघीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रममध्ये असोज २ गते नेपालको संविधान विषयमा केन्द्रीत रही विशेष संवाद, परिसंवादलगायत जनचेतनामूलक कार्यक्रम निर्माण तथा प्रकाशन, राष्ट्रिय पत्रपत्रिकाहरुमा संविधानको बहुपक्षीय आयामलाई उजागार गर्ने विभिन्न लेख–रचना प्रकाशन, नेपाल टेलिभिजन, रेडियो नेपाल, सामुदायिक एवम् निजी क्षेत्रका विद्युतीय तथा छापा सञ्चार माध्यमहरुबाट संविधान महत्वको कार्यक्रम प्रसारण गर्ने कार्यक्रम छ । 

तीन दिन साँझ सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरुमा दीप प्रज्ज्वलन गरिने छ । 

असोज ३ गते नेपाली सेनाद्वारा सैनिक–मञ्च, टुँडिखेल, काठमाडौंमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने, तोप र बन्दुकको बढाइँ, सबै मठ–मन्दिर, बुद्ध–विहार, मस्जिद, चर्च, गुरुद्वारलगायतका धार्मिक स्थलहरुमा नित्य–पूजा, पाठ गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, लोकतन्त्र र संविधानका लागि जीवन उत्सग गर्ने ज्ञात–अज्ञात शहीदहरुको आत्माको चीरशान्तिको कामनासहित उच्च सम्मानसाथ श्रद्धासुमन अर्पण गरिने छ ।

सोही दिन टुँडिखेलमा मूल समारोहको औपचारिक कार्यक्रम आयोजना हुनेछ । आम नागरिकका घर–घरमा र सबै सरकारी, सार्वजनिक, सामुदायिक, सहकारी एवम् सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिक संघ–संस्था एवम् प्राज्ञिक प्रतिष्ठानमा दीप प्रज्ज्वलन गरिने छ  ।

यसैगरी, असोज ४ गते रेडियो नेपाल तथा टेलिभिजनबाट संविधान दिवसको अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य सञ्चार माध्यममा पनि यसका लागि अनुरोध गरिने उहाँको भनाइ छ । 

विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा तीन दिन कार्यालयको छत, वरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउन अनुरोध गरिएको छ । 

उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहका कार्यालयहरुमा राष्ट्रिय झण्डा राख्ने, स्थानीय सञ्चार माध्यम तथा पत्रपत्रिकामा संविधानसँग सम्बन्धित सन्देश तथा कार्यक्रम प्रकाशन तथा प्रसारण गर्न अनुरोध गरिएको छ ।