• १६ वैशाख २०८१, आइतबार

स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार

blog

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल लगायतका सहभागीहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, भदौ २७ गते । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ मा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ । 

स्वास्थ्य मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरी अन्तिम रूप दिइएको हो । 

स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०–८१ मा सञ्चालन हुने एकीकृत स्वास्थ्य तथा सरसफाइ र प्रादेशिक अस्पताल सुदृढीकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणको लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरिएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार चालु आर्थिक वर्ष स्वास्थ्य मन्त्रालय तथा कार्यालयबाट सञ्चालन हुने १ सय ७३ वटा कार्यक्रमको मार्गदर्शनमाथि छलफल गरिएको छ । छलफलबाट अन्तिम रूप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने छ । 

स्वास्थ्य सचिव डा. पन्थीको अध्यक्षतामा भएको परामर्श बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटोछरितो तरिकाले कार्यान्वयन हुनेगरी मार्गदर्शन र कार्यविधि तयार गरिनुपर्ने बताउनुभयो ।  

कार्यक्रम कार्यान्वयनका लागि निर्माण हुन बाँकी रहेको कार्यविधि एक साताभित्र निर्माण गर्न निर्देशन दिँदै मन्त्री खनालले योजना तथा कार्यक्रम कार्यान्वयनमा कुनै पनि किसिमको ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले यस वर्षदेखि सुरु गरेका कार्यक्रम कार्यान्वयनका लागि नागरिकलाई सहज हुने विधि अपनाउन पनि मातहत निकायलाई निर्देशन दिनुभयो ।

स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले दुई वटा कार्यालयले एकै प्रकृतिको काम गरी दोहोरोपना हुने काम नगर्न निर्देशन दिनुभयो । स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने २४, निर्देशनालयबाट सञ्चालन हुने ३२, आपूर्ति व्यवस्थापन केन्द्रबाट सञ्चालन हुने १९, तालिम केन्द्रबाट सञ्चालन हुने १६, अस्पतालबाट सञ्चालन हुने ४३, स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने २२ र आयूर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने १६ गरी १५७ वटा कार्यक्रमको मार्गदर्शन तयार भएको छ ।